विश्वेश्वरप्रसाद कोइराला—बीपी—जसको नाम आज पनि नेपाली राजनीतिमा ताजा छ, बहसमा छ र उहाँले तयार गरेको गोरेटोमा आजको नेपाल डोरिएको छ । त्यो बाटो हो प्रजातान्त्रिक प्रक्रियाको शासन व्यवस्था । जनताका प्रतिनिधिले शासन गर्ने व्यवस्था ।
त्यसो भए बीपीको चिन्तन अनुसारको शासन प्रणाली छ त ? बीपीको ठम्म्याइ अनुसारको शासन प्रणालीले नेपालीहरुको सेवा गरेको छ त ? के नेपालीहरु बीपीले कल्पना गरे अनुसारको आफ्नो एउटा झुपडीमा जहान परिवारलाई राम्रोसँग ओखतीमुलो गर्नसक्ने , आफ्ना छोराछोरीहरुलाई विद्यालयमा बेरोकटोक पढाउन सक्ने, समाजमा शिर ठाडो गरेर हिँड्न सक्ने अधिकारसहितको नागरिक हुन सकेको अवस्था छ त ? राज्य सामाजिक न्यायका लागि कटिबद्ध छ त ?
बीपीलाई नेपाल भन्ने देशको यति माया थियो कि उहाँको आफ्नो मृत्यु विदेशमा भए पनि नेपालमा नै अन्तिम क्रियाकर्म गरियोस् भन्ने थियो । जसरी पुष्पलालजीको शव ल्याउन दिइएन, जसरी सुवर्णजीको शव ल्याउन दिइएन, त्यस्तो नहोस् भनेर बीपीको अन्तिम समय हुन लागेपछि नेपाल नै ल्याइएको थियो र नेपाल आएको केही समय पछि नै उहाँको निधन भएको थियो । एउटा महान राष्ट्रवादी, महान प्रजातन्त्रवादी र एक स्वप्नद्रष्टा, एक भविष्यद्रष्टा नेताको अवसान भएको चार दशक भए पनि मुलुक उहाँँकै बाटोमा, उहाँँकै चिन्तनको प्रजातन्त्रमा हिँडेको छ भन्न पाउँदा र नेपाल प्रजातन्त्रको पक्षमा अडिग छ भन्न पाउँदा पनि एउटा प्रजातन्त्रवादीलाई खुसी लाग्छ नै ।
समय परिवर्तनशील छ र समयले प्रजातन्त्रको बाटोमा नयाँ–नयाँ परिवर्तन ल्याएको छ । त्यसैले ठ्याक्कै कस्तो बाटो हिँडेको छ भनेर ठोकुवा गर्न नसके पनि आजको नेपालको मूलबाटो भनेको प्रजातान्त्रिक प्रणाली नै हो जुन कुराको बीपीले कल्पना गर्नु भएको थियो । एउटा स्वैरकल्पना थियो —नेपालबाट राणा शासनको समूल नष्ट गर्ने र तत्कालीन अवस्थामा मुलुकमा संवैधानिक राजतन्त्रमार्फत् संसदीय व्यवस्थाको स्थापना । आज पनि त्यो कल्पना कसरी पूरा गरियो होला भन्ने कल्पनाले पनि, इतिहासका ती रोमाञ्चक यथार्थले पनि हामीमा गौरवको अनुभूति हुन्छ र लामो प्रयासले मात्र, दृढ विश्वासले मात्र र कल्पनालाई यथार्थमा परिणत गर्ने दृढ इच्छाशक्तिको कारणले मात्र आज नेपाल भन्ने देश छ, नेपाली भन्ने जाति छ र नेपाल भन्ने देशले स्वतन्त्ररुपमा आफ्नो देशलाई सञ्चालन गर्न सकेको छ । आधुनिक नेपालको इतिहासमा त्यस्तो दृढ इच्छा शक्ति भएको र निरन्तर निरन्तर प्रजातन्त्र र जनताको अधिकारको पक्षमा अनवरत, सम्झौताविहीन संघर्ष गर्ने र त्यस्तो जनपक्षीय धाराको नेतृत्व गर्ने व्यक्ति बीपी नै हुनुहुन्थ्यो भन्दा अत्युक्ति हुँदैन ।
त्यसो त बीपी आफैँ पनि अनावश्यक औपचारिकतामा भन्दा डटेर, सिद्धान्तमा अडेर प्रजातन्त्र र जनताका पक्षमा काम गर्ने कुरामा विश्वास गर्नुहुन्थ्यो । एकातिर विश्वमा साम्यवादको लहर आएको बेला थियो भने साम्यवादसँग राजनीतिकरुपमा मुकाबिला गर्नका लागि प्रजातन्त्रवादीहरुलाई धौधौ परेको बेलामा बीपीले प्रजातन्त्रका पक्षमा आफूलाई सतीसालझैँ उभ्याउनु भएको थियो र प्रजातन्त्रविना राष्ट्रियता सम्बद्र्धन हुन सक्दैन भन्ने विश्वासका साथ उहाँले नेपालमा प्रजातन्त्रको लागि शंखघोष गर्नु भएको थियो । जुन सम्भव भएर आजसम्म नेपालमा प्रजातन्त्रको दियो कहिले निभ्दै र कहिले बल्दै रहेको छ ।
बीपीले कस्तो बेलामा नेपालमा प्रजातन्त्र स्थापनाको संघर्षलाई नेतृत्व दिनु भएको थियो भने जुन बेलामा छिमेकमा एकातिर सिंगो भारतलाई, बेलायती साम्राज्यले हिन्दुस्तान र पाकिस्तान बनाएर जातीय विभाजनसहितको प्रजातन्त्रको स्वरुप छोडेर गएको थियो भने अर्कोतिर चीनमा प्रजातन्त्र मासेर एकतन्त्रीय शासनको रुपमा साम्यवादको स्थापना गरिएको थियो जुन आजसम्म पनि टिकेको छ । भारत जातीय दंगामा रुमलिएको थियो, जसको असर आज पनि देख्न पाइन्छ । तर भारतले प्रजातन्त्रलाई भने राजनीतिक संस्कृतिको रुपमा ग्रहण गरेको छ र पनि । भारतको स्थिरता र चीनको स्थिरताको आफ्नै कथा र तरिका रहेको बेलामा नेपालमा आफ्नै नेपालीहरुको शोषण र थिचोमिचोबाट मुक्ति पाउनका लागि जनक्रान्ति गरिएको थियो जसलाई नेपाली कांग्रेसले नेतृत्व गर्यो, जसको सैद्धान्तिक धाराको मुख्य नेतृत्व बीपीले गर्नु भएको थियो । आज पनि त्यसैले होला, नेपालमा प्रजातन्त्रको कुरा गर्दा पर्यायमा बीपी र बीपीको कुरा गर्दा पर्यायमा प्रजातन्त्रमात्रै देखिन्छ ।
बीपीको भौतिकरुपमा कमी भएको पनि ४० वर्ष भयो र पनि बीपी नै नेपाली राजनीतिको सबैभन्दा चर्चित र प्रभावशाली नेताको रुपमा देखिनु हुन्छ । एउटा बेला थियो, जुनबेला मुलुकमा प्रजातन्त्रको बदलामा एकतन्त्रीय पञ्चायती शासन प्रणाली लागू थियो, त्योबेलामा पनि बीपीको विरुद्धमा यति धेरै लगानी गथ्र्यो कि पञ्चायतले, प्रजातन्त्र भनेको पञ्चायत हो वहुदलीय प्रणाली होइन भनेर बीपीकै विरोध गरिन्थ्यो, गराइन्थ्यो । पौराणिक कालमा हिरण्यकश्यपुले प्रह्लादलाई विष्णुको विरोध गरेजस्तै हुन्थ्यो । त्यस्तै पनि भयो । जसरी प्रह्लादसँग विष्णुको पक्षमा कुनै काम नगर्न, विष्णुको नाम नपुकार्न भनिन्थ्यो, त्यति नै विष्णुको नाम आफैँ हिरण्यकश्यपुले लिन्थ्यो । वहुदलीय व्यवस्थाका विरुद्धमा पञ्चायत भन्ने विषय पढाइन्थ्यो, त्यही पञ्चायतले हाम्रो पुस्तालाई वहुदलीय व्यवस्थाको प्रचार गरेको थियो उल्टो तरिकाले । एकदिन त मुलुकमा प्रजातन्त्र स्थापना भयो फेरि । त्यो बेलामा बीपी हुनुहुन्थेन र पनि उहाँको सिद्धान्तले विजय हासिल गरेको थियो ।
बीपी आफैँ पनि व्यक्तिपूजाका विरोधी हुनुहुन्थ्यो र हामी पनि बीपीलाई देवत्वकरण नगरौँ तर बीपीको जन्म दिवस मनाउँदा उहाँका धारणाहरुप्रति मनन गरौँ र उहाँले देखाएको सिद्धान्तप्रति प्रतिबद्ध होऔँ ।स्वयं बीपी आफूलाई हेफ्टह्यान्डेड क्रिटिकको फेला परेको बताउनु हुन्थ्यो अर्थात् विरोधीहरुले उग्र विरोध गर्ने अनि समर्थकहरुले समर्थनमात्र गर्ने । आलोचनात्मक चेतले काम गर्नु जरुरी ठान्नुहुन्थ्यो । उहाँ सुरुदेखि नै सामाजिक प्रजातन्त्र जसलाई समाजवादको रुपमा चिनिन्थ्यो, त्यसको पक्षधर रहनु भयो सिद्धान्तमा, व्यवहारमा र प्रयोगमा पनि ।
राजनीतिक विश्लेषकहरु भन्न थालेका छन्—उहाँले स्थापना गर्नु भएको नेपाली कांग्रेसले प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको मूल चुरो बिर्सन थालेको छ । बीपीका चिकित्सक तथा नेपालका पहिलो गणतान्त्रिक राष्ट्रपति डाक्टर रामवरण यादवले त बीपीको जन्मजयन्ती मनाउँने क्रममा भन्नु नै भयो—अब बीपीको सिद्धान्त कांग्रेसमा भेटिन छाडेको छ, कांग्रेसको सिद्धान्तले जनतासँग भेट गर्न छोडेको छ, अब राम राम भन्नेबाहेक बाँकी केही होला जस्तो छैन । अर्थात् गठबन्धन र सत्ताको मात्र कुरा गर्दा प्रजातन्त्र र समाजवादको चुरो हराउन थालेको छ अनि उहाँको दल सत्ताको मात्र भोको भएजस्तो गरी अरुसँग टाँसिएर जनतामा जाँदैछ । सिद्धान्त मिल्दैन, कुरा मिल्दैन, योजना मिल्दैन, भविष्यको नेपालको बाटो मिल्दैन तर काँग्रेस गठबन्धनका फसेर निर्वाचनमा जाँदैछ भन्ने गुनासो स्वयं कांग्रेसका कार्यकर्ता र नेताहरुको छ ।
मात्र बीपीप्रति श्रद्धाञ्जलि । प्रजातन्त्रका पक्षमा सुदृढ समर्थन अनि भावी दिनका लागि असल मानिसहरुलाई संसदमा पठाएर प्रजातन्त्रको सुरक्षा र रक्षा गर्नु नै बीपीप्रति सही श्रद्धाञ्जलि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्