गृष्मा राजभण्डारी/दिलिप पोखरेल (इमेज)
काठमाडौं, भदौ ३ । राजधानीका अधिकांश स्थानमा हुने भीडभाड, त्यसमाथि फुटपाथे व्यापारी । जसका कारण अधिकांश पैदलयात्रीले सास्ती व्यहोर्नुपरेको छ ।
त्यसो त नगर प्रहरीले बेलाबेलामा गर्ने कारबाहीले भने केही फुटपाथ व्यापारी सचेत भएका छन् भने केहीको दुःखेसो छ ।
सार्वजनिकस्थलमा पसल थापेर जीविकोपार्जन गर्ने एक व्यापारीको सामान नगर प्रहरीले नियन्त्रणमा लिएपछि गुनासो गरे ।
यो पहिलोपटक पनि होइन । एकले अर्कालाई छक्याउने यो रित सातौंपटकसम्म चलिसकेको छ ।
उनीहरु पैदलमार्गमा पसल थाप्छन् । प्रहरी आउँछ र उठाएर लैजान्छ । जो भाग्छन्, उसले आफ्ना सामान पनि जोगाउँछन् ।
नभए सामान नियन्त्रणमा लिएपछि जरिवाना तिरेर फेरि पनि फुटपाथमा फर्कनु उनीहरुको नियति नै बनेको छ ।
महानगरपालिकाअन्तर्गत्को नगर प्रहरीले पैदलयात्रीको सहजताका लागि वर्षौंदेखि यसरी नै सार्वजनिक ठाउँमा पसल थाप्नेको सामानमात्र होइन, जथाभावी पार्क गर्ने सवारी–साधन पनि नियन्त्रणमा लिन्छन् र जरिवाना तिराइ छाड्ने गरेका छन् ।
जसै नगर प्रहरी बजारमा पुग्छन् अनि व्यापारी र नगर प्रहरीबीच घम्साघम्सी र लुछाचुँडी चल्ने गर्दछ ।
प्रहरीको गाडी देख्नेबित्तिकै सामान गुट्मुट्याउँदै भाग्नु, त्यसक्रममा कतिपय सामान हराउनु र नस्ट हुनु सामान्यझैं हुन्छ ।
यता, नगर प्रहरीले भने पटक–पटक चेतावनी दिँदा पनि फुटपाथ व्यापारीले नटेरेपछि दीर्घकालीन उपायका लागि पछिल्लो समय सामान नियन्त्रणमा लिने र सामान बेच्न प्रयोग गर्ने गाडा र साइकल फिर्ता नदिने गरेका छन् ।
कुहिने र चाँडै नस्ट हुने सामान भने जरिवाना तिराइ छाड्ने गरेको, नियन्त्रणमा लिइएका साइकल र गाडा भने लिलामी गर्ने गरेको छ ।
नगर प्रहरीले नियन्त्रणमा लिएको सामान भने टेकुस्थित महानगरको गोदाममा राख्ने गरिएको छ । जहाँ केही गाडा र साइकल नस्ट गरिएका छन् भने केही लिलामीको तयारीमा छ ।
नियन्त्रणमा लिइएका नस्ट हुने सामान जरिवाना तिराइ फिर्ता दिने गरेपनि डरले लिन नआउनेहरुको सामान भने त्यतिकै अलपत्र पर्ने गरेको छ ।
सानो–तिनो बनिबुतो गरी जीवन निर्वाह गर्दा हस्तक्षेप गरेकामा भने उनीहरुको ठूलो चित्तदुखाइ छ ।









प्रतिक्रिया दिनुहोस्