
एजेन्सी, जेठ २२ । अमेरिकामा भएको जातीय हिंसा र त्यसविरुद्ध फैलँदो प्रदर्शनका बारेमा पूर्वराष्ट्रपतिहरुले एकपछि अर्को गर्दै मुख खोल्न थालेका छन् ।
यसैक्रममा पूर्व राष्ट्रपति जिमी कार्टरले जर्ज फ्लोइडको मृत्युपछि भएको प्रदर्शनका सम्बन्धमा विज्ञप्ति जारी गर्दै अपराधविरुद्ध नबोल्नु हिंसा जस्तै खतरनाक हुने चेतावनी दिएका छन् । यसअघि पूर्वराष्ट्रपति बराक ओबामाले पनि यसबारेमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।
जिवित पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामाभन्दा पाको उमेरका कार्टरले सत्तामा रहेका व्यक्ति चुप बस्नु हिंसाभन्दा पनि खतरनाक हुने टिप्पणी गरेका हुन् । उनले आफू र आउने पुस्ताका लागि शान्तिपूर्ण तथा समानताले सजिएको विश्व बनाउने जिम्मा हामी सबैको रहेको पनि सम्झाएका छन् ।
कार्टरले आफ्नो वक्तव्यमा भनेका छन्, ‘सत्ता र शक्तिमा रहेका व्यक्तिहरु, विशेष अधिकारी प्राप्त तथा नैतिक विवेक भएका व्यक्तिहरु बोल्नै पर्छ, उनीहरुले आवाज उठाउनुको विकल्प छैन । उनीहरुले छालाको रंगको आधारमा विभेद गर्ने प्रहरी प्रशासन र न्याय प्रशासन अस्वीकार्य भन्नु पर्छ ।’
श्वेत र अश्वेतबीचको आर्थिक खाडललाई अनैतिक भन्दै कार्टरले त्यसलाई नै बढावा दिने खालको सरकारी प्रणालीले अमेरिकी एकीकृत प्रजातन्त्रलाई छायाँमा पारेको बताए । ‘मानिसलाई अमानवीयकरण गरिनुले हामी सबैलाई अवमूल्यन गर्छ, मानवीयता अति सुन्दर छ र यसमा असीमित विविधता छ । हाम्रो साझा मानवीयताको बन्धनले हामीलाई विभाजन गरिरहेको भय र पूर्वाग्रहलाई तोड्न सक्नु पर्छ ।’
प्रतिक्रिया दिनुहोस्