२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


संघीयता खारेजको माग गर्दै जनमोर्चाले गरायो संविधान संशोधन विधेयक दर्ता


0
Shares

काठमाडौं, जेठ २१ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् । योसँगै संविधान संशोधनको चौथो विधेयक संसदमा दर्ता भएको हो ।

सरकारले अद्यावधिक नेपालको नक्शाअनुसार निशान छाप सच्याउन संविधान संशोधन विधेयक दर्ता राएसँगै अरु विधेयकहरु पनि दर्ता गर्न थालिएको हो ।

सरकारले विधेयक दर्ता गराएपछि समाजवादी र राजपाले पनि आफ्ना माग सम्बोधन गर्न माग गर्दै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गराएका थिए ।

यसैगरी कांग्रेसका ८ जना सांसदले मंगलबार संविधान संशोधन विधेयक दर्ता गराएका थिए ।

मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने विधेयकमा उल्लेख गरेको छ ।

देशले संघीयता धान्न नसक्ने भएकाले केन्द्रीय र स्थानीय तह कायम हुनेगरी संविधान संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । जनमोर्चा शुरुदेखि नै संघीयताको विरोधमा उभिँदै आएको छ ।