२६ श्रावण २०८२, सोमबार | Mon Aug 11 2025


पशुपतिको फलामको मेचमा विद्युत् प्रवाह, गन्धर्वको निधन


0
Shares

काठमाडौं, भदौ ३ । पशुपति आर्यघाटमा राखिएको फलामको मेचमा विद्युत् प्रवाह हुँदा पुष्प गन्धर्वको निधन भएको छ ।

गन्धर्व हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बेलुकी विद्युत् आपूर्ति अवरुद्ध भएका बेला अपरिचित व्यक्तिले तार मेचमा बाँधिदिएको महानगरपालिका वडा नम्बर–७ का अध्यक्ष शुद्धकुमार डंगोलले राससलाई जानकारी दिए ।

विद्युत् आएपछि मेचमा प्रवाह भयो ।

खाली मेचमा बस्न पुगेका गन्धर्व विद्युत्को झट्काले बेहोस भएपछि उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा लगिएको थियो ।

चिकित्सकले केही समयमै गन्धर्वको निधन भएको घोषणा गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

गन्धर्वको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको जनाइएको छ ।

घटनाका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका अधिकारीसहित पीडित परिवार, वडा कार्यालयका प्रतिनिधि र प्रहरीबीच छलफल भएको छ । रासस