१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रुसी इन्धनको मूल्यमा सिमा तोक्न युरोपेली युनियनको प्रस्ताव

'सिमा तोक्ने काम भए युरोपमा केही पनि नपठाउने रुसी राष्ट्रपतिको चेतावनी'

11.284k
Shares

काठमाडौं । युरोपेली युनियन (ईयु) ले रुसबाट आयत हुने ग्यासको मूल्यमा सिमा तोक्न प्रस्ताव गरेको छ ।

रुसले ग्यास आपूर्ति कटौती गरेपछि आकाशिएको ग्यासको मूल्य नियन्त्रण गर्न इयुले मूल्यको सिमा तोक्न प्रस्ताव गरेको हो । साथै थर्मल प्लान्टबाट सञ्चालित उर्जा उत्पादन कम्पनीको बिजुलीको भाउमा पनि सिमा तोक्नुपर्ने प्रस्ताव गरिएको छ ।

यस्तै, रुसले भने मूल्यको सिमा तोक्ने निर्णय भए युरोपमा ग्यास आपूर्ति पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ ।

रुसको भ्लादिभोस्तोकमा बुधबार आयोजित पूर्वीय आर्थिक मञ्चको सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको हीत विपरित निर्णय भए युरोपमा केही पनि नपठाउने चेतावनी दिनुभयो । “हामी युरोपमा ग्यास, तेल, कोइला, खाद्यान्न केही पनि जान दिन्नौं” पुटिनको भनाइ थियो ।

युरोपले रुसबाट ४० प्रतिशत ग्यास र ३० प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्ने गर्दछ ।