
काठमाडौं, जेठ २१ । सौन्दर्यकला व्यवसायी संघले ब्यूटीपार्लर तथा सैलुन व्यवसाय खोल्न दिन माग गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य संघले बुधबार विज्ञप्ति जारी गरी यस क्षेत्रका व्यवसायी र कामदारको जीविकोपार्जनमै समस्या हुन थालेको भन्दै उक्त माग गरेको हो ।
आ–आफ्नो व्यवसाय सञ्चालन गर्न नपाउँदा जीवन निर्वाह गर्नै समस्यामा परेका यस क्षेत्रका व्यवसायीलाई सरकारलेसमेत कुनै राहतको व्यवस्था गर्ने संकेत नदेखिएको उसको गुनासो छ ।
यसैले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन संघले सरकारसमक्ष आग्रह गरेको छ ।
आफ्ना सबै सदस्य ब्यूटीपार्लर तथा सैलुन व्यवसायीहरूले सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघले ‘लकडाउन’ खुकुलो बनाइ व्यवसाय सञ्चालन गर्ने वातावारण बनाइदिन सरकारको ध्यानाकर्षण गरेको छ ।
यसैबीच, व्यवसायीहरुले लकडाउन उल्लंघन गरी व्यवसाय सञ्चालन गर्न खोजेसँगै बुधबार काठमाडौंको मैतीदेवीलगायत स्थानमा व्यवसायी र प्रहरीबीच झडप पनि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्