Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


गण्डकी प्रदेशमा नीति तथा कार्यक्रममाथि छलफल


0
Shares

पोखरा, जेठ २१ । गण्डकी प्रदेशको प्रदेशसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

जेठ १८ गते प्रदेशसभामा प्रस्तुत भएको प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तापक्षीय सांसदहरुले राम्रो तथा प्रतिपक्षले नराम्रो भन्दै जुहारी खेलेका छन् ।

सत्तारुढ सांसदहरुले कोरोनालाई केन्द्रित गर्दै प्रदेशको विकास र समृद्धिको खाकासहित नीति तथा कार्यक्रम आएको बताएका छन् भने प्रतिपक्षी सांसदहरुले सरकारले कोरोनालाई चिन्न नसकेकाले त्योसँग लड्न र त्यसबाट प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्न ठोस योजना र कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।

बुधबारको छलफलमा १२ जना प्रदेशसभा सदस्यले सरकारले ल्याएको कार्यक्रको बचाउ र विरोध गरेका छन् ।

छलफल कार्यक्रममा बोल्ने सांसदहरुले ‘लकडाउन’लाई छिट्टै खुकुलो बनाएर जनजीवन सामान्य बनाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

सत्तापक्षकै सांसद इन्द्रलाल सापकोटाले प्रदेश सरकार आम्दानी बढाउने योजनाका साथ लाग्नुपर्ने सुझाव दिएका छन् ।

उनले मुलुक संघीयतामा गएसँगै कार्यान्वयनको सन्दर्भमा खर्च बढिरहेको तर आम्दानीमा ध्यान नगएको बताउँदै प्रदेश सरकारले राजस्व संकलनमा विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद ओमकला गौतमले जनताको भावना, चाहना तथा वर्तमान आवश्यकताविपरीत नीति तथा कार्यक्रम आएको आरोप लगाइन् ।

पोखराका अधिकांश पसलहरु खुले

यसैबीच, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको ७२ दिन पुग्दा पोखरा बजारका अधिकांश पसलहरु खुलेका छन् ।

बैंक तथा वित्तीय संस्थामा पैसा लिने र जम्मा गर्नेको बैंकबाहिर भीड लागेको छ । सडकहरुमा सवारी–साधन बढी गुडेका छन् ।

जिल्ला ट्राफिक कार्यालयले भने लकडाउन खुकुलो नगरेको भन्दै अत्यावश्यकबाहेकको काममा बाहिर ननिस्कन अनुरोध गरेको जनाएको छ ।