Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाडको कुस्तीमा नेपालका तीनै खेलाडी पराजित


0
Shares

जकार्ता, भदौ ३ । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत् आइतबार फेन्सिङतर्फ नेपालका दुई खेलाडीले प्रारम्भिक चरणका खेलमा प्रतिस्पर्धा गरे ।

नेपालकी कमला श्रेष्ठले एक खेल जित्दा चार खेल हारिन् भने रबिना थापाले सबै ५ खेल हारिन् ।

महिला व्यक्तिगत साबरअन्तर्गत् समूह ‘सी’को खेलमा कमलाले मंगोलियाकी अरुन्जाया युन्देन्दोर्जलाई ५–० ले पराजित गरिन् ।

बाँकी चार खेलमा भने कमलालाई जापानकी नोरिका तामुराले ५–० ले, हङकङकी आउ सिनयिनले ५–० ले, चिनकी जियारु सियानले ५–१ ले र भियतनामकी थु हाबुइले ५–४ ले हराए ।

यसैगरी, महिला व्यक्तिगत साबरकै समूह ‘डी’को खेलमा नेपालकी रबिना थापालाई इन्डोनेसिया, जापान, दक्षिण कोरिया, कम्बोडिया र इरानका खेलाडीले पराजित गरे ।

कुस्तीमा चुनौती समाप्त

एसियाडको कुस्तीमा नेपालका सबै तीन खेलाडीको चुनौती पहिलो दिन नै सकिएको छ ।

पुरुष फ्रिस्टाइल ५७ केजी तौल समूहमा भगवती साह तेली इरानका रेजा एट्रिनाघर्चीसँग ४–० ले पराजित भए ।

यसैगरी, ७४ केजी फ्रिस्टाइलमा सुरेश चुनारा जापानका युही फुजीना मीसँग ४–० कै नतिजामा निराश भए ।

६५ केजीको फ्रिस्टाइलमा सरोज यादव पनि मंगोलियाका बातमाग्नाइ बात चुलुनसँग ४–० कै नतिजामा पराजित भए ।