२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


सूचनाको हकअनुसार नै कानुन आएकाले विरोध गर्नुको औचित्य छैन : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा सरकार पारदर्शी हुनुपर्छ भनेर प्रदान गरिएको सूचनाको हकअनुसार नै कानुन आएकाले त्यसको विरोध गर्नुको औचित्य नभएको जिकिर गरेका छन् ।

राष्ट्रिय सूचना आयोग १२औं वर्षमा प्रवेश गरेको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक सरोकारका विषयबाहेक कसैको निजी जीवनसँग सरोकार राख्ने विषयमा सूचना खोज्न नहुने बताए ।

उनले गत वर्ष नै पारित गरिएको नयाँ मुलुकी ऐन कार्यान्वयनको समयमा तीव्र आलोचना गरिएको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकी ऐनमा प्रदान गरिएको सूचनासम्बन्धी हकले प्रकाशन/प्रसारणलाई कतै प्रभावित नपारेको जिकिर गरे ।

सूचनाको हकको सही सदुपयोग गरेर सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो भन्दै उनले मुलुकी ऐनले प्रेस स्वतन्त्रता नखोसेको दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारले जनतालाई प्रदान गरेको सेवा–सुविधाबारे सर्वसाधारणलाई जानकारी दिन जरुरी रहेको बताए ।