जकार्ता, भदौ ३ । इन्डोनेसियाको जकार्तामा जारी एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत् नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टरफाइनलमा पुगेको छ ।
आइतबार भएको समूह चरणको खेलमा नेपाल पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।
नेपाली पुरुष ब्याडमिन्टन टोलीका रत्नजीत तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठले पाकिस्तानलाई हराएको हो ।
‘बेस्ट अफ फाइभ’को आधारमा खेलाइएको खेलमा नेपाल ३–१ ले विजयी भयो ।
नेपालका रत्नजीत तामाङले पाकिस्तानका मोहोमद इर्फान साहिद भाटीलाई २१–१२ र २१–११ को सोझो सेटमा हराए ।
यसैगरी, दीपेश धामीले अजिम सरवारलाई २१–१६ र २१–१० को सोझो सेटमा पराजित गरे ।
नेपालका नवीन श्रेष्ठ पाकिस्तानका रिजवान आजमसँग २–१ ले हारे पनि पुरुष युगलमा दीपेश र रत्नजीतको जोडीले रिजवान र कासिफअली सुलेहरीको जोडीलाई २१–१७, १७–२१ र २१–५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।
नेपालले अब सेमिफाइनल प्रवेशका लागि चाइनिज ताइपेईसँग खेल्नेछ ।
ब्याडमिन्टकै महिला टिम इभेन्टमा नेपाललाई माल्दिभ्सले ३–२ ले पराजित गर्यो ।
नेपालकी नङ्सलदेवी तामाङले माल्दिभ्सकी फतिमाना बाह अब्दुल रजाकलाई २१–१७ र २१–१५ ले हराउँदा जेसिका गुरुङले अमिनानाबेह अब्दुल रजाकलाई १५–२१, २५–२३ र २१-१७ ले हराइन् ।
तर, नेपालकी रसिला महर्जन भने माल्दिभ्सकी नीला नाजिब सँग २–१ को सेटमा पराजित भइन् ।
महिला युगलतर्फ नेपालले दुवै खेल हारेपछि माल्दिभ्ससँग समग्रमा ३–२ ले पराजित भएको हो ।








प्रतिक्रिया दिनुहोस्