१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


भीम अस्पतालबाट २५ जना संक्रमित डिस्चार्ज


0
Shares

रुपन्देही, जेठ १९ । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका पाँचपाँच, सिद्धार्थनगर नगरपालिकाका एक, नवलपरासीका तीन जना र भारतका एक जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले जानकारी दिए ।

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीलाई फूल र खादा ओढाएर बिदाइ गरे ।

मन्त्री बरालले कोरोना लाग्दैमा आत्तिनु नपर्ने  तर सतर्कता भने अपनाउनुपर्ने बताए । उनले संक्रमितलाई हेयको दृष्टिले नहेर्न पनि आग्रह गरे ।

डिस्चार्ज भएका बिरामी खुशी हुँदै नाचेर बिदा भएका थिए ।

यसअघि आइतबार बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत चार संक्रमित  डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई र बुद्धभूमि नगरपालिकाका एक युवक गत वैशाख ३० गते अस्पताल भर्ना भएका थिए ।

उनीहरु भारतबाट आएको जनाइएको छ । यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका युवकलाई वैशाख २९ मा अस्पताल ल्याइएको थियो ।

उनी पनि मुम्बईबाट आएका थिए । रासस