२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


संसदबाट अनुमोदन नहुँदासम्म एमसिसीलाई पैसा दिन्नौंः अर्थमन्त्री डा. खतिवडा


0
Shares

काठमाडौं, जेठ १८ । अर्थमन्त्री डा. खतिवडाले अमेरीकी सहयोग नियोग (एमसिसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्रै बजेट निकासा गरिने बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथि उठेको प्रश्नको सोमबार उत्तर दिँदै अर्थमन्त्री डा. खतिवडाले एमसिसी बजेटमा गत तीन वर्षदेखि नै निरन्तर भएको र आगामी बजेटमा रहेपनि सम्झौता कार्यान्वयन भने संसदबाट पारित भएपछि मात्रै हुने जानकारी दिए ।

संसदले सम्झौता पारित नगर्दासम्म रकम निकासा नगर्ने बचन उनले दिए ।

स्वास्थ्य क्षेत्रमा ६ प्रतिशत बजेटको व्यवस्था गरेको जानकारी दिँदै डा. खतिवडाले कोरोना रोकथामका लागि आकस्मिक बजेटका रुपमा ६ अर्ब छुट्टयाइएको पनि बताए । स्वास्थ्य उपकरणको जगेडा गर्न ५ अर्ब उपकरण खरिदमा प्रयोग गर्ने उनको भनाइ थियो ।

कृषि अन्य क्षेत्रसँग पनि जोडिएको र कृषिको सबै क्षेत्रलाई जोड्दा करिब ८० अर्बको रकम विनियोजन भएको भन्दै यस क्षेत्रमा रकम कम नभएको जवाफ उनले दिए ।

डा. खतिवडाले सांसद विकास कोषको रकमलाई हरेक निर्वाचन क्षेत्रमा अरु मन्त्रालयले पूरा नगरी बाँकी रहेका पूर्वाधार विकास र स्वास्थ्य क्षेत्रमा पनि प्रयोग गरिने उनको भनाइ थियो ।

उनले आर्थिक क्रियाकलाप रोकिएको मात्रै हो भन्दै सबैको प्रयास हुँदा आर्थिक वृद्धिदर ७ प्रतिशतकै हाराहारीमा हुने दाबी गरे ।