
दीपक श्रेष्ठ र कुमार कटुवाल (ईमेज)
काठमाडौं । राजधानीमा बढ्दो सवारी चापका कारण हुने गरेको ट्राफिक जामले निर्धारित समयमै गन्तव्यमा पुग्न निकै कठिन हुने गरेको छ ।
जीर्ण र साँघुरा सडकमा दैनिक थपिंदै गएका सवारी साधनको भीडले दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
नेपालमा अहिलेसम्म ३२ लाख २१ हजार ४२ वटा सवारी साधन दर्ता छन् ।
तीमध्ये काठमाडौं उपत्यकामा मात्र १० लाख सवारी साधन सञ्चालनमा छन् ।
गत आर्थिक वर्ष २०७४/७५ मा मात्र ४ लाख ३७ हजार ६ सय १४ सवारी दर्ता भएका छन् ।
तीमध्ये ९५ हजार ९ सय ९१ चारपाङ्ग्रे र ३ लाख ४१ हजार ६ सय २३ वटा दुईपाङ्ग्रे सवारी नेपाल भित्रिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तुल्सीराम अर्यालले जानकारी दिए ।
नेपाल भित्रिएका धेरै सवारी साधन काठमाडौंमै चल्ने गरेका छन् ।
साँघुरा र जीर्ण सडकमा ठूलो संख्यामा सवारी साधन सञ्चालनमा आउँदा काठमाडौं उपत्यकामा दैनिक ट्राफिक जामको समस्या भोग्नुपरेको छ ।
यस्तो अवस्थामा पनि सवारी साधन भित्रने क्रम रोकिएको छैन ।
सवारी साधन आयातमा नियन्त्रण गर्ने कुरा पटक–पटक आउने गरेको छ । तर सरकारले आयातमा नियन्त्रण गरेको छैन ।
सडकको क्षमताअनुसार मात्र सवारी साधन भित्र्याउनुपर्ने कुरामा यातायात विभागका अधिकारी पनि सहमत छन् ।
तर सरकारले कडाइ नगर्दा आयात भएका सबै सवारी साधन दर्ता गर्न विभाग बाध्य हुने गरेको सूचना अधिकारी अर्याल बताउँछन् ।
नेपालमा भित्रिने अधिकांश सवारी साधन शहरी क्षेत्रमा सञ्चालित छन् । त्यसैका कारण पनि काठमाडौंलगायतका शहरी क्षेत्रमा ट्राफिक जाम बढी हुने गरेको छ ।
त्यसमाथि सार्वजनिक सवारी साधनका रुपमा साना सवारीको प्रयोग बढी हुँदा पनि ट्राफिक समस्या बढ्दो छ ।
सार्वजनिक यातायातका ठूला सवारी साधन सञ्चालन गरेर सानाको विस्थापित गर्न सके केही हदसम्म ट्राफिक समस्या समाधान गर्न सकिने सरोकारवालाहरु बताउँछन् ।
त्यस्तै सडकको अवस्था सुधार गरी काठमाडौं बाहिर पनि अवसरहरु सिर्जना गराउन सके शहरी क्षेत्रले भोग्दै आएको ट्राफिक जामको समस्या समाधान हुने आशा गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्