२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


यत्रा सांसदको के काम ? ५५ प्रतिशतलाई कटाऔंः सांसद किराँती


0
Shares

काठमाडौं, जेठ १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद सुदन किराँतीले ५५ प्रतिशत सांसदको संख्या कटाउन प्रस्ताव गरेका छन् । देशको अनावश्यक खर्च कम गर्न सांसदहरुको संख्या नै कटौती गर्नुपर्ने सुझाव उनले दिएका हुन् ।

आइतबारको संसद बैठकमा बोल्दै सांसद किराँतीले भने, ‘कर्मचारी नयाँ नियुक्ति नगर्ने भनिएको छ । खर्च कटौतीको निम्ति यो सकारात्मक कुरा हो । संविधान संसोधन गरेर ५५ प्रतिशत सांसदहरु पनि कटाइदिऊँ । किन यत्रो धेरै सांसद राख्नु पर्यो नेपाललाई ? जनताले पनि त्यसै भनिराखेका छन् ।’

प्लटिङ गर्ने, व्यापार गर्ने सेनाको के काम ?

सांसद किराँतीले सिमानामा खटाउन नसक्ने हो भने सेनाको संख्या पनि घटाउनुपर्ने माग गर्दै सेनाले प्लटिङ गर्ने, मुनाफाका लागि व्यापार गर्ने हो र ? भन्ने प्रश्न गरे ।

उनले भने ‘सार्वभौमसत्तामाथि गम्भिर प्रश्न उठिराखेको बेला सिमानामा सेना खटाउन सकिँदैन भने सेनाको पनि संख्या घटाइदिऊँ । सेना आज प्लटिङ गर्दैछ, पेट्रोलपम्प खोलेर राज्यको तलब खाएर पेट्रोल भर्दै बसेको छ । सेनाको आफ्नै अदालत छ रे ! कता कता सुन्छु जेल पनि आफ्नै बनाउँदै छ । के यो दोहोरो राज्यसत्ताको अभ्यास गर्न खोजिएको हो ?’

उनले सरकारलाई प्राथमिकता तय गर्न भन्दै जरुरी पानीजहाज हो कि आणविक स्टेशन हो कि स्वास्थ्य, शिक्षा र कृषि भन्दै प्रश्न पनि गरे ।

‘स्वास्थ्य क्षेत्रमा संकट छ । तर, अहिले नै हामीलाई जेल चाहिन्छ, पानी जहाज चाहिन्छ, त्यति मात्रै नभएर आणविक स्टेशनहरु पनि चाहिन्छ होला तर, अहिलेको मुख्य प्राथमिकता भनेको कृषि, शिक्षा स्वास्थ्य नै हो ।’

वास्तविक किसान सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेटले सन्तुष्ट हुने अवस्था नरहेको भन्दै उनले राष्ट्रपति कृषि पुरस्कार पाएको मानिस आज विदेश गएको छ, विदेशबाट आएर लगानी गर्नेहरुको हालत के छ भन्दै प्रश्न गरे ।

सरकार समाजवादको साइनबोर्ड राखेर कुहिएको पुँजीबाद बेच्दै छ

किराँतीले आफूले समाजवाद ल्याउँछु भनेर भोट मागेको तर, समाजवादको साइनबोर्ड राखेर यो सेतो घरमा कुहिएको पुँजीबाद बेचिँदो रहेछ भने । सरकारले जनताको समस्या सम्बोधन गर्ने गरी बजेट ल्याउन नसकेको आरोप पनि उनको थियो ।