Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


६७ दलले समानुपातिक निर्वाचनमा भाग लिने


117
Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ७६ वटा दलले ६८ वटा चुनाव चिन्हबाट भाग लिने भएका छन् ।

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश–१ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेश प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेका छन् ।

आयोगले दलको दर्ता नम्बर, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रकै चुनाव चिन्ह गोलाकार भित्र हँसिया र हथौडामा चुनाव लड्ने भएका छन् ।

यस्तै मिननाथ देवकोटा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्ण गोपाल बञ्जारा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न बाघबाट चुनाव लड्ने भएका छन् । त्यसैगरी सामाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र नेपाल दलित पार्टीले गितार चुनाव चिन्हमा संयुक्त चुनाव लड्ने भएका छन् ।

यस्तै नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी, नेपाल सुशासन पार्टीले काखमा बच्चा बोकेकी आमाको चुनाव चिन्हबाट संयुक्त चुनाव लड्ने भएका छन् ।