अपराधीको शैली फेरियो तर प्रहरी पुरानै विधिमा निर्भर ! « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


अपराधीको शैली फेरियो तर प्रहरी पुरानै विधिमा निर्भर !

स्केच तयार पार्न विज्ञान र प्रविधिले ठूलो फड्को मारेपनि नेपाल प्रहरी पुरानै ढर्रामा चल्न बाध्य

988
Shares

काठमाडौं । करिब ७२ हजार हाराहारीको जनशक्ति रहेको नेपाल प्रहरीलाई अपराधी पत्ता लगाउनको लागि पुरानै विधि स्केचको भर पर्नु पर्ने बाध्यता छ ।

देशभर अनगिन्ती घटना घट्छ । दैनिक हजारौं मुद्दा दर्ता हुन्छन् । कति अपराधी पत्ता लाग्छन त कति फरार हुन्छन् । पत्याउनुहुन्छ– बयानका आधारमा फरार अभियुक्तको जस्ताको तस्तै स्केच तयार गर्ने प्रहरी अधिकृत भने एकजना मात्र छन् । उनैले बनाएको स्केच पछ्याउँदै जाँदा अपराधी माकुरी जालमा पर्छ ।

योगेश महर्जनको काम नै बेपत्ता र संदीग्ध अपराधीको तस्वीर रेखांकन गर्नु हो । आपराधिक घटनामा संलग्न फरार अभियुक्तको हुलियाको भरमा स्केच तयार गर्न उनी खप्पीस छन् । कसैले बोलेको मुखाग्रकै आधारमा उनको मस्तिष्कले अपराधीको आकृति पत्ता लाइहाल्छ । मस्तिष्कले आकार बनाउन नपाई हातमा रहेको पेन्सिलले तत्काल कागजमा उतारिहाल्छ ।

उतारिएको आकृतिको आधारमा जस्तासुकै अपराधी प्रहरी नियन्त्रणमा परिहाल्छन । नेपालका ठूला ठूला आपराधिक घट्नाको दूधको दूध, पानीको पानी छुट्याउने राजहाँसको भूमिका उनैले कोर्ने गरेका आकृतिले भूमिका निर्वाह गरेका छन् । अपराधी पक्राउ परेको क्षण उनको व्यावसायिक सफलताको घडी बन्दोरहेछ ।

कुनै पनि बस्तु या व्यक्तिको प्रतिरुप तयार पार्ने कला चुनौतीपूर्ण छँदैछ । अनुसन्धानका क्रममा मान्छेपिच्छेका फरक बयानले त झन् स्केच उतारमा आनको तान फरक पर्ने रहेछ । यसो हुँदा पुरै अनुसन्धान प्रभावित हुने जोखिम रहन्छ । घटनामा संलग्न स्केचमार्फत अपराधीसम्म पुग्नु प्रहरीको पुरानो तर निकै भरपर्दो सफल अनुसन्धान विधि मानिन्छ ।

यद्यपी स्केच तयार पार्न विज्ञान र प्रविधिले ठूलो फड्को मारेपनि प्रहरी पुरानै ढर्रामा चल्न बाध्य छ । महर्जनले तयार पारेको स्केचको आधारमा न्यायाधिश रणबहादुर बमका हत्यारा पत्ता लागेको थियो । यतिमात्र होइन युनिस अन्सारी गोलीकाण्डको अपराधीको स्केच तयार पार्ने जस उनैलाई जान्छ । यही आधारमा अपराधी पक्राउ परेको थियो ।

योगेशले अपराधी मात्र नभई कुनै हवाई, सडक दुर्घटना मात्र हैन, गाडिएको शबको आकृति तयार पारेर अनुसन्धानलाई सजिलो र भरपर्दो बनाइदिन्छन् । यसले सनाखतमा ठूलो भूमिका खेल्छ । काठमाडौमा बस्ने र यहींको सेरोफेरोमा आपराधिक घटनामा संलग्नको स्केच बनाउन जति सजिलो छ, बाहिरको हकमा उति नै चुनौतीपूर्ण हुने रहेछ ।

स्केचको उपयोगिता र उपादेयता त्यतिबेला प्रभावकारी हुन्छ, जतिबेला प्रत्यक्षदर्शीले घटनालाई विशुद्ध किसिमले स्मरण गर्छ । प्रत्यक्षदर्शीले सत्य साविति दिएको खण्डमा स्केचले धोका नदिने महर्जनको बुझाई छ । यति ठूलो प्रहरी संगठनभित्र अनुसन्धानको पाटोमा सघाउने यति संवेदनशील क्षेत्रमा काम गर्ने जनशक्ति एकजनामा निर्भर रहनु उचित हैन ।

त्यसमाथि प्रविधिगत रुपमा नेपाल प्रहरी यति कमजोर धरातलमा रहनु सुहाउँदिलो हुँदै होइन । अपराध कर्मका शैली फेरिएको अवस्थामा सरोकारवालाहरुको शीघ्र ध्यान जान जरुरी छ ।