२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


अर्थमन्त्रीज्यू बजेटका कार्यक्रम लागू गर्न कहाँबाट आउँछ पैसा ? : डा. रिजाल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले संसदमा पेश गरेको बजेटका कार्यक्रम लागू गर्न पैसा कहाँबाट आउँछ भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै रिजालले बजेटमा अनेकन कार्यक्रम ल्याए पनि पैसाचाहिँ कहाँबाट जुटाउने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रश्न गरेका हुन् ।

रिजालले सरकारसँग कल्पनाशिलता नदेखिएको र संकटलाई अवसरमा बदल्ने मौका गुमाएको टिप्पणी गर्दै मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकासका लागि प्राप्त अवसर गुमाएको बताए ।

उनले संसदमा भने, ‘यसपालि मुलुकलाई संकट छ । दुनियाँ शताब्दीको गहिरो संकट भोग्दै छ । यो संकटलाई अवसरमा बदल्ने कल्पनाशीलता बजेटमा अपेक्षा गरिएको थियो । सरकारले त्यो कल्पनाशीलता देखाएन ।’

उनले कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाहेक अरूले कामै गर्न नसक्ने अवस्थामा पनि बजेट नदिइएको आरोप लगाए । स्थानीय तहलाई सशर्त अनुदानबाहेक सबै घटेको उनको भनाइ थियो ।

सांसद रिजालले स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट अपुग हुने भन्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्न पनि नपुग्ने बताए । अबको अर्थतन्त्र उद्धार कसरी गर्ने, राहतका काम कसरी गर्ने, नागरिकलाई घर–घरसम्म कसरी पु¥याउने भन्नेमा सोच्न उनले सरकारलाई आग्रह गरे ।