२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


बजेटले देशको अवस्थालाई सम्बोधन गर्न सकेनः प्रकाशमान सिंह


0
Shares

काठमाडौं, जेठ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बजेटले देशको अवस्थालाई सम्बोधन नगरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले बजेट सामान्य अवस्था जस्तै सोचेर ल्याइएको भन्दै कोरोनाबाट परेको प्रभावलाई सम्बोधन नगर्ने दाबी गरे ।

देश जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यसको गम्भीरतालाई बजेटले नजरअन्दाज गरेको भन्दै उनले कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारको प्राथामिकतामा नपरेको टिप्पणी गरे ।

स्थिर सरकारले राज्यलाई दीर्घकालीन महत्व राख्ने नीति ल्याउन नसकेको, सामान्य सरकारले जस्तै काम गरेको भन्दै सिंहले भने, ‘यो सरकारले ल्याएको यो तेस्रो बजेट हो । तर जनमत अनुसार प्रशासनिक सुधार, संरचना सुधारका कार्यक्रम आएन । दम नै नभएको सरकार जस्तो देखिएको छ । दीर्घकालीन सुधारका कुनै कार्यक्रम नै ल्याएको छैन ।’

यसैगरी राजपा नेता राजेन्द्र महतोले बजेटमाथि टिप्पणी गर्नु नै बेकार भन्दै सत्तामा रहेकाहरुलाई पक्ष पोषण गर्न मात्र बजेट आएको टिप्पणी गरे ।

राज्यको चरित्रअनुसार बजेट आएको भन्दै महतोले निरन्तरता बाहेक केही नभएको बताए । उनले सत्ताधारीहरुले आफूलाई विजेता, आफू मालिक अरु भिखारी भन्ने प्रवृत्ति बजेटमा पनि देखाएको भन्दै औपनिवेशिक जस्तै बजेट आएको आरोप लगाए ।

सरकारले भोकले कोही मर्दैन भने पनि दिनदिनै नागरिक मर्न थालेकामा सरकारको ध्यानाकर्षण गराए ।