२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


राजस्व बढाउने बाबुराम सूत्रः ‘सम्पत्तिको स्वघोषणा गर्ने अवसर दिउ’


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभामा आगामी वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन सरकारलाई सुझाव दिएका हुन् ।

संसदमा भट्टराईले भने, ‘सम्पत्ति स्वयं घोषणा गर्न दिऔं, कालोसेतो नभनौं एकचोटीलाई । सबैले सम्पत्ति अभिलेखीकरण गरौं । त्यो गर्यो भने राजस्व बढ्छ ।’ भट्टराईले आफू अर्थमन्त्री हुँदा २०६५ सालमा सम्पत्तिको स्वघोषणा गर्ने योजना ल्याएका स्मरण पनि गराए ।

सबै नागरिकको सम्पत्ति अभिलेखीकरण गर्न सरकारलाई सुझाव दिँदै उनले अर्बौ सम्पत्ति जमिनमा लगाउने र त्यसको कर नतिर्ने प्रवृत्ति घातक रहेको बताए । व्यवसाय गर्दा कर लाग्ने, जग्गा किन्दा र घर बनाउँदा नलाग्ने प्रचलन अन्त्य गर्न डा. भट्टराईले सल्लाह दिए ।

शिक्षा र स्वास्थ्यमा मुनाफाका लागि लगानी गर्न नदिन सुझाउँदै उनले सबै दायित्व राज्यले लिनुपर्ने बताए । शिक्षा र स्वास्थ्यमा गरिने लगानी परोपकारका लागि मात्र हुनुपर्ने बताए । मुनाफाका निम्ति गर्ने हो भने शिक्षा र स्वास्थ्यमा होइन कृषि, ऊर्जामा गर्न उनले लगानीकर्तालाई सल्लाह दिए ।