विश्वविद्यालयलाई तालामुक्त बनाउने अभियानमा लागौं : मन्त्री पौडेल « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


विश्वविद्यालयलाई तालामुक्त बनाउने अभियानमा लागौं : मन्त्री पौडेल


182
Shares

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने बताउनुभयो । मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरुसँग मन्त्रालयमा छलफल गरिरहेको पनि बताउनुभयो ।

नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटी भइरहेको बताउनुभयो । उहाँले शंकरदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक स्थान उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत जनाउनुभयो ।

मन्त्री पौडेलले शैक्षिक संस्थाहरुको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको बताउनुभयो ।