
एजेन्सी, जेठ १७ । अमेरिकी राष्ट्रपतिको निवास ह्वाइटहाउस अगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच शुक्रबार रातभर तानातानी हुँदा तनाव उत्पन्न भएको छ ।
मिनियापोलिसमा प्रहरीको यातनाबाट एक अश्वेत नागरिक जर्ज फ्लायड मारिएपछि देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीको एक समूहले राष्ट्रपति कार्यालय अगाडि नै प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शन गर्न भेला भएका प्रदर्शनकारीको एक समूह शुक्रबार रातभर नै ह्वाइटहाउस रुँघेर बसेका हुन् । पाँच घण्टाभन्दा बढी समय उनीहरुले ह्वाइटहाउस अगाडि गुप्त सेवाका अधिकारीहरुको सामना गरे ।
बाहिर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तानातानी मच्चिरहँदा राष्ट्रपति डोनल्ड ट्रम्पले भने भित्रबाट यि सबै दृष्य हेरिरहेका थिए । भीडलाई हटाएपछी ट्वीट गर्दै ट्रम्पले गुप्त सेवाका अधिकारीहरुको कामको प्रशंसा गरेका छन् ।
प्रदर्शनकारीले कयौं पटक फलामे बारलाई हटाउँदै दंगा नियन्त्रणका लागि बसेका गुप्त सेवाका अधिकारीहरुसँग धक्कमधक्का गरेका थिए । प्रदर्शनकारीको धक्कमधक्कामा केही अधिकारी सामान्य घाइते भएको जनाइएको छ ।
सुरक्षा अधिकारीहरुले भने प्रदर्शनकारीलाई जोडसँग धकेल्दै कालो खुर्सानीको स्प्रे छर्किएका थिए । प्रदर्शनकारीले फ्लायडको न्यायका पक्षमा नाराबाजी गर्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए ।
शुक्रबार साँझ ७ बजेदेखि जम्मा हुन थालेका प्रदर्शनकारीले रातको १० बजेदेखि शनिबार बिहान ३ः३० बजेसम्म ह्वाइटहाउस अगाडी प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्