बारा, जेठ १७ । बारामा भारतबाट आएका स्थानीयलाई राख्न वडास्तरमै ‘क्वारेन्टाइन’ निर्माण गर्न थालिएको छ ।
नगरले सञ्चालन गरेको कोरोना अस्पताल साँघुरो हुन थालेपछि वडास्तरमा क्वारेन्टाइन निर्माण गर्न थालिएको हो ।
अस्थायी कोरोना अस्पतालहरुमा स्थान अभाव हुन थालेपछि आफ्नो वडालाई संक्रमणबाट जोगाउन क्वारेन्टाइन बनाएको वडाध्यक्ष ईश्वर केसीले बताए ।
यसअघि, जिल्ला विपद् व्यवस्थापनकोे बैठकले १६ ओटै स्थानीय तहमध्ये उपमहानगरपालिकाहरुले ५० बेड, नगरपालिकाहरुले २५ बेड र गाउँपालिकाहरुले १० बेडको ‘आइसोलेसन वार्ड’ निर्माण गर्ने निर्णय गरेको थियो ।
बारामा हालसम्म ५८ जना कोरोना संक्रमित छन् ।
सरकारले भारतबाट फर्कने नेपालीहरुका लागि २० ओटा सीमानाका तोकिदिएसँगै वीरगन्ज भन्सार नाकाबाट दुई दिनयता करिब ८०० नेपाली भित्रिसकेका छन् ।
उनीहरुलाई प्रशासन र स्थानीयको निगरानीमा सोझै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।





प्रतिक्रिया दिनुहोस्