विकास पौडेल (इमेज)
चितवन, जेठ १७ । चितवनका कृषकले उत्पादन गरेको तरकारी बिक्न छाडेपछि कृषकहरुले धमाधम तरकारी बारी जोत्न थालेका छन् ।
‘लकडाउन’लाई कारण देखाउँदै ठूला व्यवसायीलेसमेत तरकारी खरिद गर्न छाडेको र मूल्यमा समेत ‘बार्गेनिङ’ गर्न थालेपछि चितवनका कृषकहरुले बरु बारीमै तरकारी जोत्न उपयुक्त ठानेका छन् ।
आफ्नो पसिनाको मेहनत त कता हो, कता ? तरकारी टिप्ने ज्यालासमेत नआउने भएपछि तरकारी टिप्नुभन्दा जोत्नु नै ठिक हो भन्ने निष्कर्षमा चितवनका कृषकहरु पुगेका छन् । उनीहरुले सबै तरकारी बारी धमाधम जोत्न थालेका छन् ।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर–१ का वासु सापकोटाले सात कट्ठामा लगाएको भिन्डी बारीमै जोतेका छन् ।
भिन्डी टिप्न खेताला लगाउँदा प्रतिकिलो करिब सात रुपैयाँ ज्याला नै लाग्ने तर तरकरी टिपेर बिक्री नै नहुने समस्या रहेकाले सबै तरकारी बाली जोत्नुपरेको उनको दुःखेसो छ ।
व्यवसायीलाई बिक्री गर्दासमेत चार रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण भएकाले बाध्य भएर तरकारी बारी जोतेको उनको भनाइ छ ।
बीउ, मल, गोडमेल र खेताला लगाउँदाको खर्च र दिन–रातको मेहनतको त परै जाओस्, तरकारी टिप्नेसमेत खर्च नउठ्ने भएपछि यहाँका कृषकहरु यस्तो निर्णयमा पुगेका हुन् ।
स्थानीय कृष्ण सापकोटालेसमेत अहिले २३ कट्ठामा भिन्डी लगाएका छन् । तयारी अवस्थामा रहेका तरकारी बिक्री नभएको र यस्तै भइराखे बर्खे भिन्डीसमेत नबिक्ने अवस्था देखिएकाले कृषकले उत्पादन गरेको तरकारीको मूल्य सरकारले निर्धारण गरिदिनुपर्ने उनको माग छ ।
खैरहनी–१, ज्यामिरे आसपासका किसानहरुले ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत् तरकारी बिक्री गर्दै आएका छन् ।
लकडाउन भएपछि जेठ ६ गतेयता संस्थाले समन्वय गरेर किसानको तरकारी बिक्री गर्न सकेको छैन ।
पोखरामा बाहिरी जिल्लाको तरकारी लैजान रोक लगाइएको र काठमाडौंका व्यापारीलेसमेत तरकारी खरिद नगरेकाले किसानले उत्पादन गरेको तरकारीले मूल्य पाउन नसकेको संस्थाका अध्यक्ष पूर्णदत्त भुसालले बताए ।
किसानको तरकारी पाँच रुपैयाँमा उठाउनसमेत व्यवसायीले मानेका छैनन् । तर, आमउपभोक्ताले चितवनमैसमेत २० रुपैयाँभन्दा बढीमा खरिद गरिरहेको उनले बताए ।
बिचौलीयाहरु हावी हुँदा किसान र उपभोक्ता दुवै मारमा परेका छन् ।
ज्यामिरे आसपासमात्रै करिब ३०० किसानले २०० बिघामा तरकारी खेती गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्