
एजेन्सी, जेठ १७ । अमरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा चीनले लागू गरेको विवादित सुरक्षा कानूनलाई एक ‘त्रासदी’को संज्ञा दिएका छन् ।
ह्वाइटहाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाका तर्फबाट हङकङले व्यापार र पर्यटनमा पाइरहेको विशेष दर्जा खारेज गर्ने घोषणा पनि गरेका छन् । योसँगै उनले अमेरिकामा चीनबाट आउने विदेशीमाथि पनि रोक लगाइने जानकारी दिए ।
उता चीनले भने पश्चिमा मुलुकलाई हङकङमा हस्तक्षेप बन्द गर्न चेतावनी दिएको छ । ब्रिटिश उपनिवेश रहेको हङकङमा सन् १९९७ मा विभिन्न स्वतन्त्रता र स्वायत्तता कायमै राख्ने शर्तमा चीनलाई हस्तान्तरण गरिएको थियो । तर पछिल्ला केही वर्षयता चीनले हङकङले प्रयोग गर्दै आएको स्वतन्त्रतामाथि लगातार कटौति गर्दै आएको छ ।
पत्रकारहरुसँग ट्रम्पले भने, ‘चीनले एक देश दुई प्रणाली खारेज गर्दै हङकङमा एक देश एकै प्रणाली कायम गरेकाले यो हङकङका लागि त्रासदी हो । चीन हङकङको स्वतन्त्रता सकाउँदै छ । उ माथि हामी प्रतिबन्ध लगाउँछौं । विदेश मन्त्रालयले हङकङको विषयमा नयाँ यात्रा नियम जारी गर्नेछ । यहाँ अब चीनको जासूसी बढ्छ ।’
उता, हङकङको विषयमा अमरिका, अष्ट्रेलिया, ब्रिटेन र क्यानडा एक ठाउँमा उभिएका छन् । विहीबार यी चारै देशले हङकङका विषयमा चीनविरुद्ध धारणा राख्दै भने, ‘हङकङको आफ्नै प्रणालीको उपेक्षा गर्दै सीधै चीनबाट सुरक्षा कानून थोपर्नु त्यहाँका जनताको स्वतन्त्रतामाथिको आक्रमण हो ।’
चीन–ब्रिटेन घोषणापत्र अनुसार चीनलाई जुन अन्तर्राष्ट्रिय बाध्यता थियो त्यो तोडिएको भन्दै उनीहरुले यो एक देश दुई प्रणालीको उल्लंघन भएको बताए । हङकङका लागि यो राजनीतिक अपराध भएको पनि उनीहरुले आरोप लगाएका छन् । नयाँ सुरक्षा कानूनले हङकङमा विभाजन बढ्ने आशंका गर्दै उनीहरुले चीनसँग हङकङवासीको टकराव हुने निष्कर्ष निकालेका छन् ।
चारै देशले हङकङको सरकारसँग मिलेर काम गर्न चीनलाई आग्रह गर्दै त्यहाँको लोकतन्त्र र स्थिरताको सुनिश्चित गर्न भनेका छन् ।
यी चार देशका अलवा जापानले पनि हङकङ उसको महत्वपूर्ण साझेदार भएकोले त्यहाँ लोकतन्त्र कायमै रहनुपर्ने टिप्पणी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्