२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


संविधान संशोधनका लागि राजपाको अलग्गै प्रस्ताव, संसद सचिवालयले गरेन निजी विधेयक दर्ता


0
Shares

काठमाडौं, जेठ १६ । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनका लागि अलग्गै प्रस्ताव तयार पारेको छ । राजपाका संसदीय दलका नेता महन्थ ठाकुरले निजी विधेयकका रुपमा दर्ता गर्न खोजेको संविधान संशोधनको उक्त प्रस्ताव संसद सचिवालयमा दर्ता गर्न अस्वीकार गरिदिएको छ ।

गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गराउन ठाकुरसहितका नेताहरु शुक्रबार दिउँसो सिंहदरबारस्थित सचिवालय पुगेका थिए । ठाकुरसँगै राजपाका नेताहरू राजेन्द्र महतो, महेन्द्र राय यादवलगायत नेता प्रस्ताव बोकेर पुगेका थिए ।

यद्यपि, राजपासँग पार्टी एकता गरेको समाजवादी पार्टीका नेताहरू भने संसद सचिवालय गएनन् । संसद सचिवालयले विधेयक दर्ता नहुनुको कारण नखुलाए पनि संविधान संशोधन जस्तो विषय निजी विधेयकका रुपमा दर्ता गर्न नमिल्ने सचिवालयका अधिकारीहरुको भनाइ थियो ।

संसद सचिवलायका महासचिव डा. भरत गौतमले पनि उहाँहरूले विधेयकको एक प्रति छोडेर जानु भएको भन्दै यसमा थप हेर्नुपर्ने प्रतिक्रिया दिए ।

राजपाले लगेको संविधान संशोधनको प्रस्तावमा भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सिमांकन र राष्ट्रिय सभामा प्रतिनिधि छान्ने विषय समावेश गरिएका छन् ।

संविधान घोषणा हुँदैदेखि आफ्ना माग नसमेटिएको भन्दै संविधान संशोधनका पक्षमा उभिएका मधेश केन्द्रित दलहरु सरकारले निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागेपछि आफ्ना माग पनि सम्बोधन गर्नुपर्ने अडानमा छन् । 

सरकारले यो भौगोलिक सीमासँग जोडिएको विषय भएकाले अरु विषय मिसाउन नसकिने जवाफ दिएपछि उनीहरु अलग्गै प्रस्ताव दर्ता गर्ने उपायमा लागेका हुन् ।