२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


के गाँजाले गर्नसक्छ कोरोनाको उपचार ?


0
Shares

काठमाडौं, जेठ १६ । संसार यतिबेला कोरोना नामक अतिकष्टसाध्य विषाणुको चपेटमा छ । मानिसलाई घरभित्रै थुनेर राख्ने यस कोरोनाकै कारण संसारको अर्थव्यवस्था चौपट हुने दिशामा गएको छ ।

संसारभरका वैज्ञानिकहरुका लागि कोरोनाको विषाणु अहिले टाउको दुखाईको विषय बनेको छ । औषधि र खोप विकास गर्न नसक्दा यसबाट हुने मानवीय क्षति दिनानुदिन बढिरहेको छ ।

अमेरिका, यूरोप, चीन, अष्ट्रेलिया, जापान, भारतलगायत देशका वैज्ञानिकहरु कोरोनाको खोप विकासका लागि रातोदिन दिमाग लडाइरहेका छन् ।
यही बेला मानिसमा भने कोरोनाको औषधिका बारेमा अनेकन भ्रम फैलिरहेको छ । त्रसित मनहरु यस्तै हल्लाको पछी दौडँदा प्रयोग गर्न नहुने औषधिले समेत कोरोना नियन्त्रण गर्न फाइदा गर्छ भन्दै प्रयोग गरिरहेका खबर आउने गर्छ ।

अरु त अरु स्वयं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत वैज्ञानिक रुपमा अप्रमाणित औषधि सेवन गरेको खुल्लमखुल्ला घोषणा गरिदिए । दादुरा र क्षयरोगमा प्रयोग हुने औषधिदेखि कतिपय घरेलु औषधिसमेतको प्रयोग भएको हल्लाहरु चलिरहेका छन् ।

कतिपय मानिसहरु अन्धविश्वासका पछि दौडेको खबर आएका छन् त कतिपय पूर्वीय औषधि विज्ञानमा महत्वपूर्ण मानिएको गाँजाको सेवनले कोरोना विषाणुलाई मार्न सक्ने भन्दै प्रोत्साहित गर्दैछन् ।

यस्तो लेखिएका खबर सामाजिक सञ्जालमा शेयर गर्नेहरु हजारौं देखिएका छन् । भ्रामक शीर्षक राखेर लेखिएका यस्ता लेखले मानिसलाई तथ्यबाट टाढा राखिदिएका छन् ।

यद्यपि, क्यानडा, इजरायल र ब्रिटेनजस्ता मुलुक गाँजा कोरोना संक्रमणको औषधिका रुपमा प्रयोगमा ल्याउन सकिन्छ कि भनेर परीक्षण गरिरहेका छन् । संक्रमणको अवधि कम गर्न सहयोग पुगेको भने बताइएको छ ।

यसले ‘साइटोकाइन स्टार्म’ को उपचारमा पनि सघाउँछ कि भन्ने खोज भइरहेको छ । ‘साइटोकाइन स्टार्म’ कोविड–१९ का गम्भीर विरामीमा देखिने बीबीसी हिन्दीले जनाएको छ । तर अहिलेसम्म गाँजाबाट कोरोनाको संक्रमण रोक्न सकिने कुनै वैज्ञानिक आधार फेला भने परेको छैन ।

गाँजाबाट कोरोना संक्रमण रोकिने जस्ता शीर्षकमा लेखिएका लेखहरुलाई फेसबुकले आंशिक रुपमा गलत जानकारी दिने भन्दै चित्रित समेत गरेको थियो । क्यानडामा भइरहेको अध्ययन समेटिएर लेखिएको उक्त लेखमा आंशकि सत्यमात्र भएकाले यस्तो गर्नुपरेको थियो ।

यद्यपि, पछिल्ला केही वर्षयता गाँजा विभिन्न रोगको उपचारमा प्रयोग गर्न थालिएको भने छ । अमेरिकाकै कतिपय राज्यले गाँजालाई खुला समेत गर्न थालेका छन् । नेपालमै पनि गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने बहस हुन थालेको छ । (एजेन्सीको सहयोगमा)