१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


मिर्गौला बिरामीलाई यातायात खर्च


0
Shares

काठमाडौं, जेठ १६ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले डायलायसिस गराइरहेका मिर्गौलाका बिरामीलाई यातायात खर्च प्रदान गरेको छ ।

बन्दाबन्दी अवधिभर डायलायसिस गराउन अस्पताल आउजाउ गर्ने मिर्गौलाका बिरामीलाई नगरपालिकाले यातायात खर्च उपलब्ध गराउने निर्णयबमोजिम बिहीबार तीनजनालाई रकम प्रदान गरिएको छ ।

एकजनालाई प्रतिदिन रु. एक हजारका दरले रु. ६ हजार र दुईजनालाई रु सात/सात हजार गरी कूल रु. २० हजार यातायात खर्चवापत वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाका नौजनाले दमौलीस्थित डायलायसिस केन्द्रमा नियमित डायलायसिस गराउने गरेका छन् । बाँकी सबैलाई छिट्टै नै यातायात खर्च उपलब्ध गराइनेछ ।

बन्दाबन्दीका क्रममा सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा मिर्गौलाका बिरामीलाई अस्पताल आउजाउमा समस्या हुदै आएको छ ।

“मिर्गौलाका बिरामीले एक हप्तामा दुईपटक डायलायसिस गराउनुपर्छ, प्रत्येक पटक डायलायसिस गराउन जाँदा नगरपालिकाले रु एक हजार उपलब्ध गराउँछ”, उनले भने, “यसले मिर्गौलाका बिरामीलाई केही राहत हुने विश्वास लिइएको छ ।”

बन्दाबन्दीमा सवारी साधन सञ्चालन नहुँदा मिर्गौलाका बिरामीले एम्बुलेन्स भाडामा लिएर वा अत्यावश्यक वस्तु लिएर आएको सवारी साधन चढेर अस्पतालसम्म पुग्नुपर्ने बाध्यता छ ।

बन्दाबन्दीमा सवारी साधन नचलेपछि मालवाहक ट्रक चढेर डायलायसिस गराउन आउने गरेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका अनिशा सुवेदीले बताए ।

विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलायसिस केन्द्र स्थापना भएको थियो ।

केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलायसिस सेवा प्रदान गरेको छ । केन्द्रबाट हालसम्म २१० जना मिर्गौलापीडितले डायलायसिस सेवा लिएका छन् भने नियमित डायलायसिस गराउने मिर्गौलापीडितको सङ्ख्या ७२ जना रहेको केन्द्रले जनाएको छ । रासस