काठमाडौं, जेठ १६ । म्याराथनका क्षेत्रमा संसारमै चर्चित बोस्टन म्याराथनको यस वर्षको कार्यक्रम रद्द गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण १२४ वर्षपछि पहिलो पटक म्याराथन रद्द गर्नु परेको आयोजकले जनाएको हो ।
बोष्टन एथ्लेटिक एशोसिएशनले २०२० को म्याराथन रद्द गरिएको जनाउँदै अब यो भर्चुअल कार्यक्रमका रुपमा रहने र सबै सहभागिले म्याराथन सकाएको पदक पाउने जनाएको छ । तर पदक पाउनका लागि सहभागिहरुले सेप्टेम्बर १४ भित्र ४२ किलोमिटर दूरी ६ घण्टामा सकाएको प्रमाणित गर्नुपर्ने शर्त राखिएको छ ।
कोभिड–१९ को संक्रमणको डरका कारण म्याराथनलाई अप्रिल २० बाट सेप्टेम्बर १४ का लागि सारिएको थियो । जुन कार्यक्रममा संसारभरबाट साढे तीन लाख व्यक्ति सहभागि हुने दाबी गरिएको थियो ।
आफूहरुको पहिलो प्राथमिकता समुदाय, कर्मचारी, सहभागि, स्वयंसेवक, समर्थकको स्वास्थ्य भएको भन्दै आयोजकले संसारलाई सेप्टेम्बरमा बोस्टनमा ल्याउन नसकिएको जनाएको छ । आयोजक संस्थाका सिईओ टम ग्रील्कले ऐतिहासिक १२४ औं म्याराथनमा संसारलाई जोड्ने योजना रहे पनि सम्भव नभएको बताए ।
आयोजकले सहभागि सबैको दर्ता शुल्क फिर्ता गरिने बाचा पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्