
काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेसँगै विभिन्न वस्तु तथा सेवामा लाग्ने करको दायरा पनि फेरबदल भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा संसदमा सार्वजनिक गरेको बजेटसँगै केहीमा कर बढेको छ भने केहीमा घटाइएको छ । केही करका दर भने यथावत छ ।
यसरी करको दर बढाइएकोमा मदिरा, पेट्रोल डिजेल लगायत वस्तु छन् । सवारीसाधन आयातको कर र व्यक्तिगत आयकर यथावत राखिएको छ ।
कर बढेका वस्तु तथा सेवाहरु
पेट्रोल–डिजलको कर बढ्यो
सरकारले पेट्रोल, डिजेल तथा मट्टितेलमा कर बढाउँदै प्रतिलिटर १० रुपैयाँको दरले पूर्वाधार विकास कर लगाएको छ । यो भन्सार विन्दुमै असूल गरिने छ । पेट्रोलमा चार रुपैयाँ र डिजेलमा २ रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर पनि लगाइएको छ । पेट्रोल डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा प्रदूषण नियन्त्रण शुल्क पनि लिने घोषणा गरिएको छ ।
चुरोट सुर्तीको करमा बृद्धि
स्वास्थ्य जोखिम कर भन्दै बिडीमा प्रतिखिल्ली पच्चीस पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली पचास पैसा, खाने सुर्ती, खैनी, गुट्खा र पान मसलामा प्रतिकिलो ४० रुपैयाँले कर लगाइएको छ ।
विदेशी मुद्रा सटहीमा २ प्रतिशत शुल्क
सरकारले विदेश अध्ययन गर्न जाँदा गरिने सटही सुविधामा समेत कर लगाउँदै २ प्रतिशत शुल्क लिने जनाएको छ । व्यक्तिगत आयकर यथावत छ । सवारी साधनको कर परिवर्तन गरेको छैन ।
सुनको भन्सारदर २ हजारले बढ्यो
सरकारले सुनको भन्सार बढाउँदै प्रति १० ग्राम दुई हजार रुपैयाँ बनाएको छ । अहिले ६ हजार ५ सय रुपैयाँ रहेको सुनको भन्सार दर अब ८ हजार ५ सय रुपैयाँ हुनेछ । चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढाइएको छ । अब भन्सारदर प्रति १० ग्राम ८५ रुपैयाँ लाग्नेछ ।
तीन वर्षको आयकर बुझाउनेलाई अघिल्ला वर्षको मिनाहा दिने
स्थायी लेखा नम्बर लिएकाले पछिल्लो ३ वर्षको (२०७३/७४, ०७४/०७५, ०७५/७६) आयकर फागुन मसान्तसम्म बुझाए त्यसअघिको आयकर विवरण सरकारले नखोज्ने जनाएको छ । यसले विगतमा कर नतिरी बस्नेलाई फाइदा हुनेछ । त्यस्तो आयमा लाग्ने कर, शुल्क, ब्याज मिनाहा दिइनुका साथै करको दायरामा आउन चाहनेलाई स्थायी लेखानम्बर लिई विगत दुई वर्षको कर फागुन मसान्तसम्म बुझाए त्यसअघिको सबै आयकर मिनाहा दिने घोषणा गरिएको छ ।
साना व्यवसायीलाई आयकरमा छुट
बार्षिक २० लाख रुपैयाँसम्म कारेबार गर्ने घरेलु तथा साना उद्योगी व्यवसायीलाई ७५ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ । २० लाखदेखि ५० लाखसम्मको कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाख देखि १ करोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत छुट दिइने छ । लघु उद्यमलाई आयकर छुटको अवधि २ वर्ष थप गरी सात वर्ष पुर्याइएको छ । महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमलाई १० वर्ष पुर्याइएको छ । यो उद्यममा ३ वर्ष थप गरिएको हो ।
बैंकहरुले विदेशबाट ल्याउने ऋणको ब्याजमा ५ प्रतिशत कर छुट पाउने
बैंकहरुले विदेशबाट ल्याउने पैसाको ब्याज भुक्तानीमा लाग्ने कर घटाउँदै बजेटले ५ प्रतिशत विन्दु कम गरेको छ ।
औषधिको कच्चा पदार्थमा खरिद गर्दा लाग्ने कर फिर्ता
औषधि उद्योगले औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकिङ मेटेरियल स्वदेशी उद्योगबाट खरिद गरेमा खरिद गर्दा तिरेको कर फिर्ता गरिने छ ।
प्रतिक्रिया दिनुहोस्