
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)लाई सात दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर रिटलाई लिएर गरेको टिप्पणीका कारण बालेनविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गर्नुभएको थियो ।
अधिवक्ता जोशीको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको आजको इजलासले जवाफ दिन भन्दै बालेन समेतका नाममा आदेश जारी गरेको हो । नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्