
एजेन्सी, जेठ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा खोस्ने गरी एक कार्यकारी आदेश जारी गरेका छन् ।
पछिल्ला केहिदिन यता सामाजिक सञ्जाल ट्वीटरसँग ट्रम्पको विवाद बढिरहेको थियो । ट्वीटरसँग बढको त्यही व्यक्तिगत तनावलाई आफ्नो शक्तिसँग जोडेर उनले आक्रामक आदेश जारी गरेका हुन् ।
ट्वीटरले उनका केही ट्वीट भ्रामक रहेको भन्दै तथ्य जाँच राखेपछि रुष्ट बनेका उनले सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटाउने कार्यकारी आदेश जारी गरेका हुन् ।
यसअघि ट्रम्पले आफ्नो ट्वीटमा तथ्य जाँच राखेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिएका थिए । अहिले भने उनले तत्काललाई ती कम्पनीहरुले पाउँदै आएको केही कानूनी अधिकार कटौती गरिदिएका हुन् ।
यो कार्यकारी आदेशसँगै अब नियामक निकायले फेसबुक तथा ट्वीटरसहितका सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीप्रति उनीहरुले गर्ने व्यवहारविरुद्ध कानूनी उपचार खोज्न पाउने छन् ।
कार्यकारी आदेश जारी गर्दै ट्रम्पले सामाजिक सञ्जालसँग हाल बिना नियमन असीमित शक्ति रहेको टिप्पणीसमेत गरेका थिए । तर ट्रम्पको यो आदेशविरुद्ध अदालतमा उजुरी पर्ने सम्भावना रहेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमाथि कन्जरभेटिभ आवाजहरुमाथि बन्देज वा सेन्सर गरेको अभियोग लगाउँदै वाक स्वतन्त्रताको उल्लंघन गरिएको बताउँदै आएका छन् ।
मंगलबार साँझ उनको एक ट्वीटमा ट्वीटरले तथ्य जाँच सम्बन्धी नोटिफिकेशन राखेपछि ट्रम्पले ट्वीट गर्दै ठूलो कदम चाल्ने चेतावनी दिएका थिए । उनले ट्वीटरले चुनावमा हस्तक्षेप गर्न चाहेको आरोप समेत लगाएका थिए ।
आलोचकहरुले ट्रम्पले यसरी आदेश जारी गर्न नसक्ने भन्दै संसदीय वा अदालती प्रक्रिया पूरा गर्नुपर्ने टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्