१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


बजेट प्रतिक्रियाः बाबुराम भन्छन्–स्वास्थ्य र कृषिमा बजेट पुगेन, आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी–सुरेन्द्र पाण्डे


0
Shares

काठमाडौं, जेठ १५ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने टिप्पणी गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसकिने पनि भट्टराईले बताए ।

अर्थमन्त्रीको बजेट भाषण सुनिसकेपछि पत्रकारहरुसँग डा. भट्टराईले भने ‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन ।’ सरकारले आगामी आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

स्वदेशमा र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिने भनिए पनि जम्मा ७ अर्ब रुपैयाँ बजेट थप गरेर नपुग्ने उनले बताए । ७ अर्ब रुपैयाँ लगानी गरेर कसरी १० औं, १५ औं लाख रोजगारी दिन सकिन्छ ? उनले प्रश्न गरे ।

बजेट बिगतकै निरन्तरता भएको पनि उनले टिप्पणी गरे । राहत, सामाजिक सुरक्षा कनिका छरेजस्तै भएको उनको भनाइ छ । अहिलेको संकटमा रेल र पानीजहाजको कुरा गर्न आवश्यक नरहेको पनि भट्टराईले बताए । बजेट क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भयो, उनले भने ।

अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भएको प्रतिक्रिया दिँदै कोरोना महामारी अझै केही समय रहने भन्दै यो सम्भव नहुने बताए ।

राजश्व कम उठ्न सक्ने तथा वैदेशिक सहायता कम आउने अपेक्षा ठीक हो भन्दै उनले २ खर्ब ९९ अर्बको वैदेशिक ऋण पूरा हुन गाह्रो पर्ने बताए । उनले आन्तरिक ऋण २ खर्ब २५ अर्ब रुपैयाँ उठाएर चालु खर्चमा खर्च गर्न नपाउने भन्नुलाई राम्रो भने ।

समग्रमा बजेट राम्रै भए पनि कार्यान्वयमा भने चुनौती रहने उनले बताए ।