
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको पहिलो उद्देश्य कोरोनालगायतका संक्रामक रोग र विपद्बाट नागरिकको जीवनरक्षा गर्दै जनजीवन सहज र सुरक्षित बनाउने रहेको स्पस्ट पारेको छ ।
संघीय संसदको संयुक्त बैठकमा बिहीबार बजेट प्रस्तुत गर्नेक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेटकाको मुख्य उद्देश्य नागरिकको जीवनरक्षा रहेको उल्लेख गरे ।
त्यसैगरी, उपलब्ध साधन–स्रोत, अवसर र क्षमताको उच्चतम् परिचालन गरी शीघ्र आर्थिक पुनर्उत्थान गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने लक्ष्य बजेटले राखेको छ ।
नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत राज्यको लोककल्याणकारी भूमिका बढाउने, सामाजिक, आर्थिक र भौतिक विकासमार्फत् उत्थानशील, समुन्नत, स्वाधीन, समृद्ध एवं समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने बजेटको लक्ष्य रहेको छ ।
बजेटले निर्धारण गरेका उद्देश्य पूर्ति गर्नका लागि क्षेत्रगत प्राथमिकता निर्धारण गरिएका छन् । जसमा कोरोनालगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नति र स्वास्थ्य जनशक्ति विकासलाई प्राथमिकता दिइएको छ ।
कोरोनाभाइरस संक्रमणको रोकथामको लागि चालिएका कदमबाट टुटेको आपूर्ति शृंखलालाई पुनःस्थापित गर्दै कृषि, उद्योग, पर्यटन, निर्माणलगायत प्रभावित क्षेत्रको पुनर्उत्थान बजेटको प्राथमिकतामा परेको छ ।
त्यसैगरी, नागरिकका लागि काम र रोजगारीका अवसर, सुरक्षित आवास, सर्वकालीक सामाजिक सुरक्षा र संरक्षण, विकासको शीघ्र प्रतिफल प्राप्त हुने, आगामी वर्ष सम्पन्न हुने अधुरा आयोजनाहरूको कार्यान्वयनलाई पनि प्राथमिकता दिइएको छ ।
त्यसैगरी, गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना–प्रविधिको विस्तार, आधारभूत खानेपानीलगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण, संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सामाजिक सेवा र उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको सदृढीकरणलाई सरकारले बजेटको प्राथमिकता क्षेत्रको रुपमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्