काठमाडौं, जेठ १५ । सरकारले घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क गरेको छ ।
लामो समयदेखि कम विद्युत् उपभोग गर्नेलाई विशेष छुट दिनुपर्ने भन्ने मागलाई सरकारले सम्बोधन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
यस्तै, सरकारले १५० युनिटसम्म विद्युत् प्रयोग गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म विद्युत् प्रयोग गर्नेलाई १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
यस्तै, माग कम हुने समयमा विद्युत् उपभोग गर्ने ग्राहकलाईसमेत सरकारले छुट दिने व्यवस्था गरेको छ ।
यस्तै, उद्योगलाई ‘डिमान्ड’ शुल्कमा समेत छुट दिइने भएको छ ।
‘लकडाउन’का कारण बन्द भएका उद्योग–व्यवसायको विद्युत् महसुलमा समेत छुट दिने प्रबन्ध गरिएको छ ।
यस्तै, खानेपानीतर्फको विद्युत् महसुलमा समेत छुट दिने व्यवस्था गरिएको छ । आन्तरिकरुपमा विद्युत् खपत बढाउने लक्ष्यका साथ सरकारले उक्त व्यवस्था गरेको हो ।
लकडाउनका समयलाई ध्यानमा राखेर सरकारले यसअघि नै १५० युनिटसम्म विद्युत् खपत गर्नेलाई २५ प्रतिशत र उत्पादनमूलक उदोगका लागि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको थियो । रासस




प्रतिक्रिया दिनुहोस्