
काठमाडौं, जेठ १४ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुने भन्दै ध्यानाकर्षण गराएका हुन् ।
थापाले परिवर्तित नक्शालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोलि नै बैठक बोलाउन भनेका हुन् ।
सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘परिवर्तित नक्शालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो । सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौं ।’
नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गरेका छन् ।
भारतले हडपिएको जमिनमा नेपालको नियन्त्रण कायम गराउन संसदबाट संकल्प गर्नुपर्नेमा पनि उहाँले जोड दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्