Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


रुकुम घटना : २० जनाविरुद्ध किटानी जाहेरी


0
Shares

मुसिकोट, जेठ १४ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन् ।  अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जाहेरी गरेका हुन् ।

पीडितले दिएको जोहेरीका आधारमा १२ जनालाई पक्राउ गरिएको र बाँकी ८ जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

उनका अनुसार वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ललाई पक्राउ गरिएको छ ।

त्यस्तै तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी र १७ वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका सबैलाई १० दिनको म्याद थप गरी अनुसन्धान  अघि बढाइएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।

जेठ १० गते शनिबार साँझ सोती पुगेका १८ युवाको समूहलाई गाउँलेले लखेट्दा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् ।

जरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको शव भेरी नदीमा भेटिएको थियो । घटनमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं ४ का सञ्जु विक बेपत्ता छन् ।

बेपत्ता तीनै जनाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । खोजीमा सशस्त्र प्रहरीका तीन गोताखोर र सहयोगीसहित सात जनाको टोलीले भेरी नदीमा खोजी गरिरहेको प्रहरीले बताएको छ । पीडित पक्षले भने जाजरकोट प्रहरीमा उजुरी दिएका हुन् । रासस