
काठमाडौं, जेठ १४ । सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गर्न लागिएको हो ।
बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।
नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।
मधेश केन्द्रित दलहरुले भने संविधान संशोधन गर्न लागेका समयमा आफूहरुले उठाउँदै आएका संशोधनको विषय पनि यसै बेला एकमूष्ठ रुपमा संलग्न गराउन माग गर्दै आएका छन् । सरकारले भने यो नितान्त भूगोलको अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको विषय भएकाले अरु विषय मिसाउन नसकिने बताउँदै आएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याउने प्रस्तावलाई समर्थन गर्ने जनाइसकेको छ भने संसदमा रहेका अरु दलले पनि समर्थन गर्ने जनाएका छन् । दलहरुको समर्थन जुटाउनकै लागि प्रधानमन्त्रीले मंगलबार सर्वदलीय बैठक बोलाएका थिए ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्शा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । सरकारले संविधान संशोधन विधेयक यही जेठ ९ गते संसद सचिवालयमा दर्ता गराएको थियो ।
त्यसअघि जेठ ५ गते मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्शा पारित गरेपछि दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको थियो ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नो भएको दाबी गर्दै भारतले दशकौंदेखि कब्जा गरेको छ भने नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक भारतले उदघाटन गरेपछि यो विषय पछिल्लो पटक विवादका रुपमा सतहमा आएको छ ।
भारतले आफ्नो कजामा राखेपनि सुगौली सन्धीलगायतका ऐतिहासिक तथ्य र प्रमाणमा ती भूभाग नेपालकै रहेको पुष्टि हुन्छ ।
२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान दोस्रो पटक संशोधन गर्न लागिएको हो । यसअघि पहिलो संशोधन, संविधान जारी गरिएको वर्ष असोज १० गते नै गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्