प्रदीप पौडेल (इमेज)
पोखरा, जेठ १३ । नेपाल प्रेस युनियन कास्कीले मंगलबार २९औं स्थापना दिवस मनाएको छ ।
कोरोना महामारीका कारण सञ्चारमाध्यम र पत्रकारहरु समस्यामा रहेको भन्दै सरकारले पत्रकारिता क्षेत्रले भोगेको चुनौती सामना गर्न व्यवस्थित राहत प्याकेज ल्याउन सो अवसरमा माग गरिएको छ ।
पोखरामा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले सरकार जति निरंकुश बन्दै जान्छ, त्यसको असर पत्रकारलाई पर्ने भएकोले यो बेलामा पत्रकार अझै क्रियाशील हुनुपर्ने बताए ।
उनले राष्ट्रियताको विषयमा सबै दल एकजुट भएमा कसैले पेल्न नसक्ने धारणा राखे ।
वर्तमान सरकारले कांग्रेसकै सहयोगका कारण नयाँ नक्सा बनाएको उनकोे भनाइ थियो ।
‘लिपुलेक हाम्रो पुर्खाले आर्जेको भू–भाग हो । यसलाई हामीले गुम्न दिनुहुँदैन’–उनले भने ।
कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रलाई जोगाउनका लागि पत्रकारले सधैं खबरदारी गर्नुपर्ने बताए ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले श्रमजीवी पत्रकारको सुरक्षाको विषयमा संगठनले सधैं आवाज बुलन्द गर्ने उल्लेख गरे ।
प्रेस युनियनका पूर्वउपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुको हकहितमा सरकार अनुदार देखिएको आरोप लगाए ।
स्थापना दिवसको अवसरमा ‘प्रेस युनियन अफ दी इयर अवार्ड’ अनिषा श्रेष्ठलाई प्रदान गरिएको छ ।
कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित सो अवार्ड यो वर्ष पहिलोपटक कार्यसमिति सदस्य श्रेष्ठलाई प्रदान गरिएको हो । श्रेष्ठलाई पाँच हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्