Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


मौरीबाट विष उत्पादन गर्ने लक्ष्य


0
Shares

तनहुँ, जेठ १३ । व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५४ वर्षीय रामनाथ मिश्र व्यावसायिकरुपमा मौरीपालन गरेर विदेश जाने युवापुस्ताका लागि प्रेरणाको स्रोत बने ।

गाउँघरमै बसेर पशुपालन, तरकारी खेती, माछापालन, मौरीपालनलगायत कार्य गरेर घर परिवारका साथमा बसेर राम्रै पैसा कमाउन सकिने उहाँ बताउनुहुन्छ । शुरुमा वनबाट खोजेर ल्याएका दुई तीन मुढे घारबाट शुरु गर्नुभएका मिश्र अहिले व्यावसायिकरुपमै लागे ।

उनले विसं २०७४÷७५ मा श्रीकृष्ण मौरी फार्म दर्ता गरी आधुनिक मौरी घार राखेर व्यावसायिकरुपमा मौरीपालन कार्य थालेका हुन् ।

कृषक मिश्रले सेराना जातका करिब ६० मौरीका घार राखेर वार्षिक न्यूनतम रु पाँच÷छ लाख सजिलै कमाउन सकिने बताए ।

विसं २०७१ देखि मौरी व्यवसायमा लागेका उनले भने, “यो पाँच वर्षको अवधिमा तीन वर्ष लगानी र व्यवस्थापन गर्दैमा मुनाफा लिन नसके पनि दुई वर्षको अवधिमा राम्रै आम्दानी गर्न सफल भएको छु ।”

उनले भने, “शुरुमा १७ वटासम्म मौरी घार राख्दा पनि मौरी बसेनन्, तर पनि कत्ति पनि बिचल्ली भइँ, निरन्तर लागिरहेँ ।” एक रोपनी क्षेत्रफल जग्गामा तारबार गरी करिब रु ६ लाख खर्च गरेर व्यवस्थितरुपमा मौरीपालन गरिएको छ ।

मौरी पाल्नुभन्दा अघि ट्र्याक्टर, बस र इँटा उद्योगसमेत सञ्चालन गर्दै आए पनि अहिले ती सबै पेशा व्यवसाय छाडेर मौरीपालनमा रमाउन थालेको कृषक मिश्रले बताए ।

मह प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्ने गरेको उनले बताए । मह बिक्रीका लागि बोकेर अन्यत्र लैजानु नपर्ने बताउँदै उनले भने, “घरमै मह लिन मानिस आउने गर्छन्, मागअनुरुप पुर्‍याउनसमेत सकिएको छैन ।” घारसहितको मौरी प्रतिघार रु आठ हजारमा बिक्री गर्ने गरेको र कसैले घार ल्याए मौरीको मात्रै रु पाँच हजारमा बिक्री गर्ने गरेको उनले बताए ।

स्थानीय  तथा प्रदेश सरकारले तालीम तथा औजार प्रदान गरेमा मौरीबाट विष तथा कुट उत्पादन गर्ने अन्तिम लक्ष्य रहेको उहाँको भनाइ छ । मौरीबाट विष उत्पादन गर्न सके प्रतिकिलो रु. ३० लाखसम्म बिक्री गर्न सकिने उनले जानकारी दिए । रासस 

Skip This