अक्कल कुँवर (इमेज)
काठमाडौं, जेठ १२ । भारतले अतिक्रमण गरेका नेपाली भू–भाग समेटेर नेपालको नक्सा अद्यावधिक गरेपछि सरकारको प्रशंसा भइरहेको छ ।
तर, अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको सरकार आफ्ना अन्य महत्वपूर्ण दायित्व निर्वाह गर्न भने चुकेको छ ।
सरकार आफ्नो उत्तरदायित्वबाट विमुख हुँदै जाँदा खबरदारी गर्ने भूमिकामा रहेको प्रतिपक्ष दलले पनि आफ्नो भूमिका र उत्तरदायित्व निर्वाह गर्न सकेको छैन ।
भारतबाट अतिक्रमित भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको कदमप्रति चौतर्फी प्रशंसा भएको छ ।
तर, सरकारको यो महत्वपूर्ण कदमसँगसँगै मुलुकका अन्य महत्वपूर्ण मुद्दाहरु भने ओझेलमा परेका छन् । सरकार अन्य महत्वपूर्ण राष्ट्रिय मुद्दा सम्बोधन गर्न प्रभावहीन देखिएको छ ।
सीमा विवाद प्रकरणले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार प्रकरण, जनजीविकाका सवाल र महामारी नियन्त्रणजस्ता महत्वपूर्ण विषय ओझेलमा परेका छन् ।
सीमा विवाद प्रकरणले सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद पनि ओझेलमा परेको छ ।
सरकारका काम–कारबाहीबारे समीक्षा गर्न भन्दै पार्टीभित्र पार्टीको स्थायी कमिटी बैठकको माग पनि ओझेलमा परेको छ ।
राजनीतिक विश्लेषक मुमाराम खनालले अतिक्रमित भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको कदम स्वागतयोग्य भएपनि कोरोना महामारी नियन्त्रण, आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति, सामाजिक तथा आर्थिक पुनर्उत्थान र जनजीविकाका समस्या समाधानमा प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे ।
त्यसो त सरकारजस्तै प्रतिपक्ष दलले पनि आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन ।
महामारी नियन्त्रण र जनजीविकाका सवाल सम्बोधनको लागि प्रतिपक्षले सरकारलाई जति दबाब दिनुपर्ने थियो, प्रतिपक्षले त्यो गर्न सकेको छैन ।
प्रतिपक्षले पनि संस्थागत भूमिका निर्वाह गर्न नसकेको भन्दै विश्लेषक खनाल अरुको कुरा सुन्ने नचाहने सरकारको प्रवृत्तिपनि जिम्मेवार रहेको बताउँछन् ।
तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भने प्रतिपक्षको भूमिका प्रभावकारी नभएको मान्न तयार छैन ।
कांग्रेस नेता कल्याण गुरुङले कोरोना महामारीको कारण विदेशमा र सीमा क्षेत्रमा अलपत्र परेका नागरिकको उद्धार, स्वास्थ्य सामग्री आपूर्ति र महामारी नियन्त्रणका लागि निरन्तर दबाब दिइरहेको बताए ।
अतिक्रमित भू–भाग समेटेर मुलुकको नक्सा अद्यावधिक गर्नु स्वागतयोग्य कदम हो ।
तर, एउटा राम्रो गरेर अन्य तमाम महत्वपूर्ण कामहरु ओझेलमा पार्नु र राम्रो कामलाई भएभरका कमजोरी लुकाउने अस्त्रको रुपमा प्रयोग गर्न खोज्नु उचित मान्न सकिन्न ।









प्रतिक्रिया दिनुहोस्