
काठमाडौं, जेठ ११ । सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकका विषयमा एकमत कायम गर्न प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संविधान संशोधनको विषयमा समाधान धारणा बनाउन सबै दलसँग आग्रह गरेका हुन् । सभामुख सापकोटाले दलहरुसँग छलफलको पहल आफैले पनि गर्ने बताउँदै समितिा सदस्यहरुलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्शालाई सरकारले हालै अद्यावधिक गरेकाले सो अनुसार मिलान गर्न प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दर्ता गरिएको छ ।
बैठकमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले संविधान संशोधनमा मधेशका माग पनि समेट्न माग गरेका छन् ।
बैठकपछि सांसद लक्षमणलाल कर्णले भने, ‘विवादरहित ढंगले समान धारणा लैजाने विषयमा हाम्रो विमति रहेन । यसपटक संविधान संशोधनको विषयमा संसदमा प्रस्ताव पेश गर्दा हाम्रा कुरा पनि सुनियोस् । त्यसका लागि सर्वक्षीय सर्वदलीय बैठक बस्न आवश्यक छ । सभामुखले पहल गर्नुपर्छ ।’
बैठकपछि सभामुखका प्रेस सहयोगी श्रीधर न्यौपानेले बैठकले संघीय संसदको प्रतीक (लोगो) र प्रतिनिधि सभाका सदस्यहरुले प्रयोग गर्दैै आएको प्रतीकलाई नेपालको वास्तविक सीमा अनुरुपको नक्शा अनुुसार परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकको निर्णय अनुसार रोष्ट्रममा राखिएको प्रतीक र सदस्यहरुले लगाउँदै आएको प्रतीक परिमार्जन गरिने छ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्