३० असार २०८२, सोमबार | Mon Jul 14 2025


फौजी किराले मकै सखाप


0
Shares

पर्वत । जिल्लाका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको छ ।

जिल्लाको जलजला गाउँपालिकास्थित धाइरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौरलगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति पुर्‍याएको हो ।

मकै गोड्ने बेलामा किराले आक्रमण गरेर क्षति पुर्‍याउन थालेको स्थानीय कृषकले जानकारी दिएका छन् ।

पछिल्लो एक हप्तादेखि मकैखेतीमा किराको आक्रमण बढेको जलजला गाउँपालिका–७ धाइरिङका कृषक नवराज आचार्यले बताए ।

उनले किराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको जानकारी दिए । उनका अनुसार विगत दुई हप्तादेखि मकैमा किराको आक्रमण बढेको हो ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यानगाउँमा देखिएको सङ्क्रमण अहिले बढ्दो क्रममा रहेको बताए ।

मल्लका अनुसार कृषि प्राविधिकसँग बुझ्दा मकैमा देखिएको सङ्क्रमण फौजी किराको आक्रमण हो ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले स्थलगतरूपमा अनुगमन गरेर मकैमा अमेरिकी फौजी किराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको छ ।

ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले कृषकको खेतमै पुगेर रोगको पहिचान गरिएको बताए ।

रेग्मीका अनुसार जलजलामा करिब १५ रोपनी खेतको मकैमा किराको आक्रमण फैलिएको र प्रकोप बेलैमा नियन्त्रण गर्न नसके धेरै क्षेत्रमा फैलिने खतरा छ ।

दक्षिण पर्वतको बिहादी गाउँपालिकामा पनि किराले बालीमा क्षति भएको गुनासो आएकाले प्राविधिकलाई परीक्षणका लागि पठाएको रेग्मीले बताए ।

विहादी गाउँपालिका–४ सहित जिल्लाको दुई हजार हेक्टर मकै लगाइएको क्षेत्रफलमा असर पुर्‍याएको छ । रासस