
नारायणी लामिछाने (इमेज)
काठमाडौं, जेठ १० । बजेट निर्माणमा जुटेका अर्थ मन्त्रालयका अधिकारीहरुले महामारी नियन्त्रण, रोजगारी सिर्जना र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउने गरेका छन् ।
कोरोना संकटका कारण विश्व अर्थतन्त्र नै धरासायी भएको बेला बजेटको स्रोत व्यवस्थापन नै चुनौतीपूर्ण देखिएको छ ।
विज्ञहरुले आन्तरिक स्रोत व्यवस्थापन र खर्च कटौती नै यतिबेला स्रोत व्यवस्थापनको आधार हुनसक्ने सुझाव दिएका छन् ।
कोरोनाको महामारीकाबीचमा सरकारले तयारी गरिरहेको बजेट कस्तो आउला भन्ने चासो सबैतिर बढेको छ ।
चालू आर्थिक वर्षमा राजस्व संकलनदेखि, विप्रेषण आप्रवाह, पर्यटन र व्यापारमा आएको कमीका कारण सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण छ ।
चैत महिनामै ४ प्रतिशत घटेको रेमिट्यान्सको कारण विदेशी मुद्रा सञ्चिती प्रभावित भएको छ भने राजस्व संकलन दुई खर्बसम्म घटेको छ ।
अर्थविद्हरु भने सरकारले अत्यावश्यकबाहेकका खर्च कटौती गर्दै करको दायरा विस्तार गर्नसकेमा मात्रै स्रोत व्यवस्थापन गर्न सकिने बताउँछन् ।
दातृसंस्थाहरु विश्व बैंक, अन्तर्राष्ट्रिय पूर्वाधार विकास बैंक तथा एसियाली विकास बैंकबाट प्राप्त हुने अनुदानको लाभ लिनसकेमा पनि स्रोत व्यवस्थापनमा त्यति असहज नहुने अर्थविद् डा. अच्युत वाग्ले बताउँछन् ।
महामारीको समयमा बजेटको आकार तथा क्षमता, राजस्व संकलनको अवस्था, अनुदानको अवस्था तथा मितव्ययीता र पारदर्शितालाई ध्यान दिनुपर्छ ।
अर्का अर्थविद् डा. डिल्लीराज खनाल अत्यावश्यकबाहेकका क्षेत्रमा खर्च कटौती गर्नु स्रोत व्यवस्थापनको मुख्य आधार हुने बताउँछन् ।
संकटको समयमा बजेटको आकारमात्रै बढाउँदा महत्वाकांक्षा बढ्ने र कार्यान्वयनमा पनि समस्या हुनेतर्फ सरकार सचेत हुनुपर्ने डा. खनालको सुझाव छ ।
सरकारले चालू आर्थिक वर्षमा पनि जम्मा २८ प्रतिशतमात्रै विकास बजेट खर्च गरको छ ।
प्रत्येक वर्ष ८० प्रतिशत विकास बजेट खर्च हुन नसक्ने तथ्यांक बोकेर अर्थ मन्त्रालय बजेट निर्माणमा जुटेको छ ।
तसर्थ, स्रोत व्यवस्थापनमा अप्ठेरो नहुने र कार्यान्वयन हुनेगरी बजेट बनाउनु व्यावहारिक हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्