Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भक्तपुरमा कोरोना संक्रमित जनप्रतिनिधिको बस्ती ‘सिल’


0
Shares

भक्तपुर, जेठ १० । भक्तपुर नगरपालिका वडा नम्बर–९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा ‘पीसीआर’ परीक्षणमा कोरोना संक्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती ‘सिल’ गरिएको छ ।

भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब संकलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउनेक्रममा ती महिलाको स्वाब संकलन गरी भक्तपुर अस्पतालमार्फत् टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।

प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना ‘पोजिटिभ’ आएपछि शनिबार बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९, च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

संक्रमित महिलाले सुरुमा अस्पताल नगइ ‘घरमै बस्छु’ भनेपनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उनलाई राति पाटन अस्पतालको ‘आइसोलेसन’मा लगिएको बताइएको छ ।

टेकु अस्पताल लैजाने तयारी गरिएपनि संक्रमित महिला मुटुरोगकोसमेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो ।

विगतमा स्वास्थ्य स्वयंसेविका समेत रहेकी संक्रमित महिला नगरपालिकाको बैठक, पार्टीको गतिविधि, राहत वितरणदेखि कोरोना संक्रमणबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा स्थानीय टोल–टोलमा जनचेतनासमेत फैलाउँदै हिँड्ने गरेपनि आफैं कोरोना संक्रमित भएको स्थानीयवासीको भनाइ छ ।

यसअघि, मुटुको शल्यक्रिया गरिसकेको उनी स्वास्थ्य परीक्षणका लागि पटक–पटक अस्पताल जाने गरेको र अस्पतालबाट वा समुदायमा विभिन्न गतिविधिमा हिँड्ने भएकाले समुदायबाटै पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

संक्रमित महिलाको परिवारको अन्य सदस्यलाई निगरानीमा राखेर शनिबारै स्वाब संकलन गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

वडाध्यक्षलगायत अन्य जनप्रतिनिधि भने आफ्नै घरमा ‘क्वारेन्टाइन’मा बसेका छन् ।

जनप्रतिनिधिमा नै कोरोनाभाइरस संक्रमण पाइएपछि भक्तपुर नगरपालिका क्षेत्र जोखिम क्षेत्रमा परेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नगरपालिकाको समुदायस्तरमै कोरोनाभाइरस जोखिम बढेकाले जतिसक्दो छिटो परीक्षण बढाउनुपर्ने आवश्यकता रहेकाले नगरपालिकासँग यसबारेमा छलफल भइरहेको बताइन् ।

प्रजिअ पाण्डेले भनिन्–‘भक्तपुर नगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरेका छौं । त्यसैले लकडाउनलाई कडाइ गर्दै प्रत्येक घरको कम्तीमा एकजनाको स्वाब संकलन गरी परीक्षण गर्नेबारेमा नगरपालिकासँग छलफल भइरहेको छ ।’

लकडाउन कडाइ गर्दै घरबाट बाहिर निस्कन नदिने अवस्थामा पानी तथा खाद्यान्नलगायतका अत्यावश्यक सामग्री भने टोल–टोलमा पुर्‍याएर केही समय कडाइ गरी परीक्षणको दायरा फराकिलो पार्न सकिने उनको भनाइ थियो ।

संक्रमित महिला जनप्रतिनिधिकै वडा कार्यालयमा काम गर्ने सचिवको ‘आरडीटी’ पोजिटिभ देखिएपनि पीसीआर भने ‘नेगेटिभ’ आएको छ ।

महिला जनप्रतिनिधिसँगै भक्तपुरको स्थानीय समुदायमा दुई र बाहिरी जिल्लाबाट आएर बस्ने दुई गरी चारजनामा संक्रमणको पुष्टि भएको छ । 

यद्यपि, भक्तपुरमा पहिलोपटक कोरोनाभाइरस संक्रमण पुष्टि भएका दुवाकोटका सशस्त्र प्रहरीजवान र मध्यपुरथिमि साथीकोमा बस्ने महिला स्वास्थ्य कर्मचारी भने आइसोलेसनमा उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको फोहर संकलन गर्ने सवारीचालक  भक्तपुर–५, योसिंखेलका संक्रमित हुन् । योसिंखेलमा ३५ घरमा गरिएको सिल खुलेको छैन ।

संक्रमितको घर–परिवारका १२ जनाको कोरोनाभाइरस परीक्षण गरिएपनि रिपोर्ट आएको छैन ।

नगरपालिकाका दुईओटा टोलमा कोरोना संक्रमण पुष्टि भएपनि नगरपालिकाभित्रका नागरिक भने अझैपनि लकडाउन उल्लंघन गर्ने गरेको, बजारमा बिहान दैनिक भीड लाग्ने गरेको छ । यसलाई नगरपालिका र प्रहरीले रोक्न नसकेको गुनासो बढेको छ । रासस