परासी, जेठ ९ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडासचिव गोविन्द कहारसहित दुईजना लिखतसम्बन्धी कसुर (किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ ।
विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिनेक्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरको मुद्दा दायर भएको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले वडासचिव कहार र रामग्राम–५ की रुक्शाना शेषलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
फरार रहेका वडाध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रामग्राम–५ का सुबेदार शेष र रुक्शाना शेषको विवाह दर्ता प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो ।
रुक्शानाका पति सुबेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न वडाध्यक्ष गुप्ता, वडासचिव कहारसहित पाँचजनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडासचिव कहार, तत्कालीन वडासचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँचजना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले किर्ते कागज बनाइदिने प्रतिवादी गोविन्द र किर्ते कागज प्रयोग गर्ने रुक्शानालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको तथा नन्दलाल कहारलाई रु ६० हजार धरौटीमा छाड्ने आदेश भएको अदालतका निमित स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए ।
प्रतिवादीमध्येका कार्यालय सहयोगी अमरलालको भने केही दिनअगाडि मृत्यु भएको छ ।
‘म वडा कार्यालयमा गइ विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सराइ अध्ययन गर्दा तत्कालीन गेरमी गाविस (हाल पाल्हीनन्दन–५) को दर्ता नम्बर–४७ रहेको २०७०/०७/०४ मा जारी गरिएको विवाह दर्ता प्रमाणपत्रमा विवाह मिति २०६२/१२/१५ उल्लेख रहेकोमा वडासचिव गोविन्द कहारले सोही दर्ता नम्बरको प्रतिलिपि बनाउँदा केरमेट गरी विवाह मिति २०६०/१२/१५ गते बनाइ फरक पारेको पाएपछि प्रतिवादीहरुउपर कानुनबमोजिम सजायको माग गर्दै मैले जाहेरी दिएको छु’–सुवेदारले जाहेरीमा उल्लेख गरेका छन् ।
पतिपत्नी सुबेदार र रुक्शानाबीच विवाद भएपछि रुक्शानाले जिल्ला अदालतमा अंश नामसारी मुद्दा दिएपछि अनुसन्धान हुँदै जाँदा उक्त रहस्य खुलेको थियो ।
वडाध्यक्ष गाउँमा खुला घुमिरहेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ ।
बन्दाबन्दी र कोरोना संक्रमणको जोखिमका कारण पक्राउ गर्न नसकिएको प्रहरीचौकी गेरमीका प्रमुख नारायण लुइँटेलले जानकारी दिए । रासस








प्रतिक्रिया दिनुहोस्