२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


२६८ यात्रु बोकेर नेपाल एयरलाइन्स जापानतर्फ, चीनतर्फ उड्यो हिमालयको विमान


0
Shares

काठमाडौं । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी  तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । जम्मा २६८ यात्रुमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् ।

नेपालस्थित जापानी दूतावासका पहलमा निगमको वाइड बडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ । बन्दाबन्दीमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो ।

सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइड बडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो ।

नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइड बडी जहाजले काठमाडौँको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिसँग काठमाडौँ–नारिता(जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले नारितातामा गत फागुन १९ गतेदेखि सीधा उडान सेवा शुरु गरेको थियो । कोभिड—१९ को संक्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाल स्थगन भएको छ ।

चाङशा उड्यो हिमालय

अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारो बडी ए३२० जहाज शुक्रबार साँझ चीनको चाङ्शा उडेको छ ।

कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन चाङ्शा उडेको हिमालय एयरलाइन्सको जहाज शनिबार काठमाडौँ फर्कने तालिका रहेको विमानस्थलका महाप्रबन्धक  केसीले जानकारी दिए ।

चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो चार्टर्ड गरेको बताइएको छ ।

नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले बन्दाबन्दीमा चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ल्याइरहेको छ ।

पछिल्लो पटक चीनका बेइजिङ, ग्वाङ्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।

हालै निगमको वाइड बडी जहाजले  ग्वाङ्जाओबाट दुई चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याएको थियो । निगमको वाइड बडी जहाज भ शनिबार पनि स्वास्थ्य सामग्री लिन चीन जाने बताइएको छ । निगमका पछिल्ला तीन वटै उडान नेपाली सेनाले खरीद गरेको स्वास्थ्य सामग्री लिन चार्टर्ड गरिएको हो ।रासस