डीबी विष्ट (इमेज)
बझाङ, जेठ ९ । कोरोनाका कारण यस वर्ष यार्सा टिप्न नपाएपछि वर्षौंदेखि बाँझो छोडिएका पाखा–पखेरा र खोरियामा पनि खेती गर्न थालिएको छ ।
कतिपयले व्यावसायिकरुपमा तरकारी, फलफूल खेती गर्ने सोच बनाएका छन् भने कतिपयले अन्नबाली उब्जाउने तयारी गरेका छन् ।
सुर्मा गाउँपलिका बझाङका स्थानीयले २० वर्षअघिदेखि यार्सा संकलन गर्दै जीविका चलाउने गरेका थिए । त्यसबेलैदेखि पाखो जमिन पनि बाँझिन थालेको थियो ।
तर, लामो समयपछि उनीहरु फेरि खेतीपातीमा फर्किएका छन् ।
‘लकडाउन’का कारण यार्सा संकलनमा स्थानीय तह तथा जिल्ला प्रशासनले रोक लगाएको र रोजगारीका लागिसमेत कतै जान नपाइने अवस्था भएपछि स्थानीयहरु बाँझो जमिन खनजोतमा जुटेका हुन् ।
गाउँपालिकाभित्रका ५०० मध्ये ३५० परिवार खेतीपातीमा लागेका छन् ।
२०५४ सालदेखि बाँझै रहेको जमिनमा अहिले खनजोत गरेर आलु, सिमी र कोदो रोप्ने तयारी थालिएको छ ।
वडा नम्बर–४ मा मात्रै लकडाउनको समयमा चार हजार बोट स्याउ र दुई हजार बोट ओखरको बिरुवा रोपिएको छ ।
किसानहरु खेतीपातीको काममा जुटेपछि बाँझो जमिन सदुपयोग भएको छ भने आगामी वर्ष भोकमरीको चिन्ता कम भएको छ ।
किसानलाई खेतीपातीको काममा गाउँपालिकाले सघाउने सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले जानकारी गराएका छन् ।
कोरोनाको कहरले गाउँका मानिसलाई मेहनती बनाएको छ ।
काम खोज्दै परदेशतिर लाग्ने युवा पनि अब आफ्नै गाउँठाउँमा खेती– किसानी र पशुपालनको काममा लाग्ने बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्