१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


सङ्क्रमित दम्पती दिल्लीबाट एम्बुलेन्समा आएका


0
Shares

भरतपुर, जेठ ९ । चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ ।

दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनीहरु यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका थिए ।

भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा शुक्रबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनीहरु दम्पती हुन् । उनीहरुसँगै दिल्ली गएका जेठो छोरामा भने सङ्क्रमण देखिएको छैन ।

उनीहरु भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गरेका थिए । एम्बुलेन्स परिवर्तन गरी उनीहरु यहाँ आइपुगेका थिए ।

उनीहरु घर आएदेखि नै सेल्फ क्वारेन्टिनमा बस्नुभएको थियो । सङ्क्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले आज कन्टयाक्ट ट्रेसिङ गरेको छ ।

सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । उनीका  अनुसार सङ्क्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए । उनीहरुको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ ।

अहिले सङ्क्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ । सङ्क्रमित बिहीबार आफै परीक्षण गर्न भरतपुर कोरोना अस्पताल पुगेका थिए ।

उनीहरुमा सङ्क्रमण पुष्टि भएसँगै अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै नवलपरासी पूर्व विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुषको पनि भरतपुर कोरोना अस्पतालमै उपचार भइरहेको छ ।

अहिले सो अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ । दुई थपिएसँगै चितवनमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।

यसअघि सङ्क्रमण पुष्टि भएका राप्ती नगरपालिकाका दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् भने एक महिलाको काठमाडौंमै उपचार भइरहेको छ । रासस