Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


१२ जनामा आरडिटी पोजेटिभपछि शङ्खरापुर छिर्ने सबै नाका सिल


0
Shares

काठमाडौं । शङ्खरापुर नगरपालिकामा बिहीबार २ सय ९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ ।

वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटीका क्रममा तिनमा पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए ।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २ सय ९० जनाको आरडिटी गरिएको थियो ।

आरडिटीमा पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ ।

पिसिआर परीक्षणको प्रतिवेदन नआएसम्मका लागि सबैलाई यहीँ राखिनेछ । क्वारेन्टनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।

आरडिटीमा पोजेटिभ देखिएकाको आज बिहान स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाबाट काठमाडौँ उपत्यका बाहिरिने नाकासहित अन्य नगरपालिकासँग जोडिएका नाका पनि आज बिहान १० बजेदेखि सिल गरिने उनले बताए ।

अर्को सूचना जारी नभएसम्म नगर क्षेत्र भित्रिने र बाहिरिने सबै नाका पूर्णरूपमा बन्द गरिनेछ । शङ्खरापुरबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको फटकशिला र भोटेचौर छिर्ने नाका छ ।

यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका हुँदै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका जाने नाका पनि छ ।